काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाह पक्षधरको प्रदर्शनले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । मंगलबार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै सिटौलाले यस्तो बताएका हुन् । ‘१५/२० हजार मान्छे सडकमा आउनु, चाहियो भन्नु यो कुनै ठूलो कुरा होइन । यसका बारेमा धेरै चर्चा गर्नु उपयुक्त हुन्छ जस्तो मलाई लाग्दैन,’ उनले भने ।
यसको पृष्ठभूमिमा उनले पूर्वराजा ज्ञानेन्द्रको ताकतबारे आफू जानकार रहेको उनको भनाइ थियो ।‘मैले आफैंले गएर करिब एक घण्टा बसेर सम्झाइ बुझाइ गरेर बाहिर पठाएको हुँ र मैले बुझेको छु उहाँ (ज्ञानेन्द्र शाह) कुन ताकतको मानिस हुन ? यो (राजसंस्था) फर्किर आउँदैन । अन्त्य भएको कुरा हो । धेरै चर्चा गरेर हामी आत्तिनुपर्ने छैन,’ सिटौलाले भने ।
नारायणहिटीबाट ज्ञानेन्द्र शाह निर्मलनिवास सर्दा सिटौला गृहमन्त्री थिए । त्यसबेला आफूले गएर ज्ञानेन्द्र शाहसँग करिब एक घण्टा बसेर कुरा गरेको सिटौलाले सुनाए ।
त्यसबेला आफूले ज्ञानेन्द्रलाई सम्झाएको स्मरण गर्दै सिटौला थप्छन्, ‘राजाबारे धेरै चर्चा उठ्छ । मैले भन्ने गरेको छु– किन धेरै चर्चा गर्नु ? म आफै बिदा गर्न गएको हुँ, राम्रै सम्झाएको छु ।’
सरकारले निर्णय गरेर नागार्जुनमा बस्न दिएको भन्दै उनले सरकारले चाहे पूर्वराजालाई नागार्जुनबाट समेत हटाइदिन सक्ने बताए ।‘सरकारकै निर्णयले नागार्जुन निवास उहाँलाई तत्कालिन अवस्थामा बस्न दिएको छ । सरकारले चाहे अहिले त्यहाँबाट हटाइदिन सक्छ’ सिटौलाले भने ।
साथै, पूर्वराजा ज्ञानेन्द्रलाई सरकारले सुरक्षा दिइरहेको पनि सिटौलाले स्मरण गरे । ‘सरकारले नै (पूर्वराजा ज्ञानेन्द्रको) सुरक्षाको बन्दोबस्त गरेको छ । त्यसैले यो बारेमा धेरै चर्चा गर्नु जाती होइन,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ फागुन २०८१, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनप्रतिनिधिले जिम्मेवार र जवाफदेहितासहित नागरिक हक अधिकारका लागि काम गर्नुपर्छ : कृष्णप्रसाद सिटौला
सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्छ: कृष्णप्रसाद सिटौला
संघीय व्यवस्थाअनुसार मानसिकता नबदलिएकाले समस्या छ: नेता सिटौला
आन्तरिक एकता नभए बाह्य शक्तिको हस्तक्षेप भइ देश नै कमजोर हुन्छ : कृष्ण सिटौला
पूर्वराजाले राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्छ : सिटौला
सिटौला निवासमा कांग्रेस संस्थापन पक्षको भेला