काठमाडौं । जनमत पार्टीले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीलाई ज्यादती गरेको भन्दै भर्त्सना गरेको छ ।संविधानले देशको कुनै पनि भागमा पेशा रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता दिएको प्रति महानगरलाई स्मरण गराइएको छ ।
जनमतका प्रवक्ता डा. शरदसिंह यादवले बुधबार विज्ञप्ति निकालेर काठमाडौं महानगरपालिकाले पछिल्लो समयमा कवाड व्यवसायीहरूलाई विस्थापित गर्ने, उनीहरूको भवन तथा व्यावसायिक संरचनामाथि अदालतको आदेशविरुद्ध समेत जबरजस्ती डोजर चलाउने कार्य गरेको जनाएका छन् ।
व्यवसायीहरूमाथि नगर प्रहरी लगाएर निर्घात कुटपिट गर्ने र आतंक मच्चाउने काम महानगरले गरेको जनमतले आरोप लगाएको छ । नागरिकको संवैधानिक अधिकार खोस्ने ऐन, कानून वा नियमावली स्वतः खारेज हुने कुरा समेत जनमतले महानगरलाई स्मरण गराएको छ ।
काठमाडौं महानगरपालिकाद्वारा नगर प्रहरी लगाएर भइरहेको चरम ज्यादती र संवैधानिक अधिकार हननविरुद्ध नागरिकको रक्षा गर्ने जिम्मेवारी नेपाल सरकारको हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कवाड व्यवसायमा अधिकांश मधेशी समुदायको व्यक्ति संलग्न रहेको भनेर नेपाल सरकारले चुप लागेर कवाड व्यवसायीहरूलाई काठमाडौंबाट विस्थापित गर्ने षड्यन्त्रमा सामेल हुने हो भने यसले राष्ट्रिय एकतामा प्रतिकूल प्रभाव पार्न सक्ने कुरालाई ध्यान दिन आग्रह गर्दछौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० माघ २०८१, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज साँझ जनमत पार्टीको बैठक बस्दै
जनमत र नाउपाबीच १७ गते एकीकरण घोषणा हुने
शिक्षकको माग सम्बोधन गर्न जनमत पार्टीको माग
जनमतले बोलायो केन्द्रीय समिति बैठक
जनमत पार्टीका केन्द्रीय सदस्यसहित युवा नेता जसपा नेपालमा प्रवेश
जनमत पार्टीले मनायो ‘धोती दिवस’