मेघौली पर्यटन विकासको केन्द्र बन्छ : मेयर दाहाल

सफल खबर संवाददाता

बुधबार, १४ कार्तिक २०७५, १५ : १६
मेघौली पर्यटन विकासको केन्द्र बन्छ  : मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पश्चिम चितवन भरतपुरको विकासको केन्द्र बन्ने बताउनु भएको छ । साझापुर माध्यामिक विद्यालय स्वर्ण महोत्सव तयारी एवं प्रतिमा पदस्थापन  समारोहलाई बुधबार सम्बोधन गर्दै मेयर दाहालले पश्चिम चितवनमा भइरहेको पूर्वाधार विकासको कार्यले गर्दा पश्चिम चितवन विकासको केन्द्र भइरहेको बताउनु भयो ।

मेयर दाहालले यस बर्षदेखि चनौली–गोलाघाट सडकखण्डको निर्माण कार्य अघि बढ्ने जानकारी दिनुभयो । चनौली–गोलाघाट सडकखण्डका लागि २ करोड र तेलौली, गौतमनगर, साझापुरहुँदै गोलाघाट सडकका लागि २ करोड छुट्याइएको बताउनु भयो ।

पश्चिम चितवन भरतपुरको विकास केन्द्र बन्ने दाबी गर्दै मेयर दाहालले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पश्चिम चितवनको रामपुरमै बन्ने निश्चित भएको छ । अर्को यहाँको रानीपोखरी पार्कले पश्चिम चितवनकै सान बढाएको छ । पश्चिम चितवनमा धेरै राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणाधीन अवस्थामा भएकाले विकास केन्द्रको रुपमा अघि बढेको छ ।’


महानगर प्रमुख दाहालले साझापुर माविको शैक्षिक गतिविधिलाई वैज्ञानिक र व्यावसायिक ढङ्गबाट अघि बढाउन व्यवस्थापन समितिलाई आग्रह गर्नुभयो । उहाँले पश्चिम चितवनको शैक्षिक विकासमा साझापुर माविले पु¥याएको महत्वपूर्ण भूमिकाको प्रशांसा गर्नुभयो । महानगरले शैक्षिक विकासलाई प्रथामिकतामा राखेकोले विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । 

६४ बर्ष अगाडि स्थापना भएको विद्यालयले यस वर्ष स्वर्ण जयन्ती मनाउन लागेको छ । विद्यालयमा कुमाल, बोटे, थारू, मुसहर तथा जनजाति समुदायका ६ सय विद्यार्थीले अध्ययन गरिरहेका छन् । विद्यालयले २०६७ सालदेखि १२ कक्षासम्मको पढाई सञ्चालन गर्दै आएको छ । स्वर्ण जयन्तीको अवसरमा विद्यालयका संस्थापक चिधारी महतो र विद्यालयकोे स्वर्ण स्मारकको प्रतिमा प्रतिस्थापन गरिएको छ ।समारोह विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लालमाया अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक तेजेन्द्र भण्डारीले विद्यालयको अवस्थाबारे जानकारी गराउनु भएको थियो ।  


 

प्रतिक्रिया दिनुहोस