काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले निर्वाचनमा आफैँ प्रतिस्पर्धा गर्न सक्ने वर्गका मानिसहरू नै समानुपातिक प्रणालीबाट संसदमा आएका कारण प्रश्न खडा भएको टिप्पणी गरेका छन् ।
पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्ज चिकित्सा क्याम्पस (एमएमसी–आईओएम) इकाई सम्मेलनमा बोल्दै पुनले समावेशिता र समानुपातिक प्रतिनिधित्वको दुरुपयोग भएकाले त्यसलाई सच्याइनुपर्ने बताए ।
प्रतिस्पर्धा गर्न नसक्ने वर्गलाई माथि उठाउन समानुपातिक र समावेशिताको अवधारणा अघि सारिएको भए पनि सक्षम वर्गले त्यही नाममा अवसर लिएका कारण जनतामा त्यसप्रति नकारात्मक धारणा विकास हुन थालेको पुनको भनाइ थियो ।
सोही कारण आफूहरूले लोकतन्त्रको सर्भिसिङ हुनुपर्ने बहस अघि बढाएको उनले बताए । ‘समावेशिता चुनाव लड्न नसक्नेका लागि हो । प्रतिस्पर्धाका लागि योग्य बनाउन पछि परको समुदाय र वर्गका मान्छेलाई अवसर दिने भन्ने त्यसको उद्देश्य हो’, पुनले भने, ‘लुप होल’ बाट प्रतिस्पर्धा गर्न नसक्नेहरूका लागि छुट्याएको कोटामा प्रतिस्पर्धाका लागि सक्षम र सक्नेहरू तीन पटकसम्म सांसद/मन्त्री भइरहेका छन् । अब यसलाई रोक्नुपर्छ ।
उनले सरकारी सेवामा विकट गाउँका गरिब बाहुन, मधेसी, जनजाति र कर्णालीजस्ता पिछडिएको क्षेत्रका लागि छुट्याइएको आरक्षण काठमाडौँसहित सहरका निजी स्कुल र क्याम्पसमा पढ्नेहरूले लिन नहुनेमा जोड दिए । अवसर पाएका र नपाएकाहरूबिच प्रतिस्पर्धा गराइन नहुने भन्दै पुनले अवसर पाउने–पाउने र नपाउने–नपाउनेबीचको प्रतिस्पर्धा मात्र न्यायोचित हुने चर्चा गरे । पुनले आफू जनजाति समुदायको भए पनि आफ्ना छोराछोरीले कोटाबाट सरकारी सेवामा प्रवेश गर्न नमिल्ने तर्क गरे ।
चुनाव लडेर प्रतिस्पर्धामार्फत आउन सक्ने महिला, जनजाति, दलित वा मधेसी नेताले समानुपातिक प्रणालीबाट संसदमा आउन रोक्नुपर्ने पुनले बताए ।
बंगलादेशमा समावेशीताकै नाराको गलत प्रयोग हुँदा जनतामा चुलिएको असन्तुष्टिले दुई तिहाइ जनमतसहितको शेख हसिना शासन छाडेर भाग्नुपरेको दृष्टान्त नेपालका लागि शिक्षा हुनसक्ने पुनले औँल्याए ।
उनले सत्तारुढ कांग्रेस र एमालेले आफूहरूसँग दुई तिहाइ भएको घमन्डसहित सरकारमा बहेर अहिलेकै जस्तो मनपरी गरिरहे कार्यकर्ताबाहेकले भोट नदिने अवस्था आउन सक्ने दाबी गरे । आफ्ना अध्यक्ष प्रचण्डले १८ महिना सरकारको नेतृत्व गर्दा सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि चालेको कदमका कारण सरकारबाहिर आउँदा पनि आफूहरूको पक्षमा जनमत देखिएको उनको भनाइ थियो । ०८४ मा आफ्नो दल ठुलो हुने दाबी पनि पुनले गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ माघ २०८१, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटमा महत्वाकांक्षा धेरै, स्रोत र कार्यान्वयनमा गम्भीर प्रश्न : वर्षमान पुन
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा
रोल्पा घटनामा संलग्नमाथि कडा कारवाही गर्न सांसद वर्षमान पुनको आग्रह
पुराना दलप्रति जनआक्रोशको कारणबारे समीक्षा आवश्यक: वर्षमान पुन