म्याग्दी । कलाकारले मुस्ताङको प्रकृति, संस्कृति र मौलिकतालाई चित्रमा उतारेका छन् । अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सवमा सहभागी कलाकारले स्थलगत भ्रमण गरी देखेका दृश्यलाई चित्रमा उतारेका हुन् । मुस्ताङका पाँच वटा गाउँमा पुगेका कलाकारले स्थलगत रूपमा कला प्रदर्शनी गरेका महोत्सवका संयोजक त्रिपल पि गुरुङले जानकारी दिए । यही कात्तिक ३ गतेदेखि सुरु भएको महोत्सव शुक्रबार ठिनीमा समापन गरिएको हो ।
“महोत्सवमा सहभागी कलाकारले जोमसोम, ठिनी, कागबेनी, मुक्तिनाथ, झोङ, झारकोट, तिरीको अवलोकन गर्दै चित्र कोर्नुभयो”, संयोजक गुरुङले भने, “महोत्सवले मुस्ताङको पारम्पारिक सङ्गीत, नृत्य र विभिन्न सांस्कृतिक परम्परालाई चित्र कलामार्फत विश्वभर प्रचार गर्न सहयोग पुगेको छ ।”
परम्परागत सङ्गीत, नृत्य र सांस्कृतिक परम्परालाई चित्रकार माझ बाँड्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताए। महोत्सवमा सहभागीहरूले मुस्ताङका गाउँ, जनजीवन, हिमाल, पशुपालन, संस्कृति, कृषि, गुम्बा, मन्दिरको चित्र कोरेका थिए ।
कलाकार मनोज तामाङले कल्पना गरेको भन्दा आफैँले देखेको विषयवस्तुलाई चित्रमा उतार्न सजिलो र वास्तविकता जस्तै भएको बताए। स्थानीयवासीका साथै विदेशी पर्यटकहरूले चित्रकारहरूले चित्र कोरेको अवलोकन गरेका थिए ।
महोत्सवमा सहभागी हुन थाइल्यान्डका डिरेक किङ्नक र काराज डब्लुएसपी, पोल्यान्डका इवा क्रुएजकोस्का, रोमानियाका स्टेफन बालोग, भुटानका जामपेल छेदा, इन्डोनेसियाका एमी गोर, ताइवानका छेङ हान वेनलगायतका अन्तर्राष्ट्रिय कलाकार मुस्ताङ आएका छन् ।
नेपालका कलाकार सिर्जन राजभण्डारी, एरिना ताम्राकार, हरेराम जोजु, एनबी गुरुङ, वाङ लामा, ध्वज गुरुङ, मनोज तामाङ, नवीन नाल्बो र आकाश गुरुङ पनि महोत्सवमा सहभागी भएका थिए ।
महोत्सवमा आउटडोर चित्रकला कार्यशालासँगै फोसिल हन्ट एन्ड स्टोन आर्ट, साउन्ड हिलिङलगायत विभिन्न सांस्कृतिक र साङ्गीतिक कार्यक्रम गरिएको थियो । हरेक साँझ फरक फरक स्थानमा काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को संयोजनमा घुम्तीरुपमा हिमाली क्षेत्रका चलचित्र प्रदर्शन गरिएको संयोजक गुरुङले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १० कार्तिक २०८१, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’
मुस्ताङको स्याङमा उन्नत गाईपालन फस्टाउँदै
संरक्षणको पर्खाइमा मुस्ताङको सेकुङ ताल
मुस्ताङको कागबेनी स्नानस्थल जोखिमपूर्ण
मुस्ताङमा पुँजीगत खर्च निराशाजनक
मुस्ताङमा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हट्यो