धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे-मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ । आजदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो।
राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर पुलको बिम राख्ने कार्य गर्न लागिएको नागढुंगा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले बताए।
नौबिसे नागढुंगा खण्डमा निर्माण हुँदै गरेको पुलको बिमलाई उचालेर पुलमा राख्न लागिएको र त्यस बेला हुनसक्ने जोखिमलाई मध्यनजर गरेर काम गर्न लागिएको उनले जानकारी दिए।
गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलको गडर लन्चिङ गर्न लागिएको छ। दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको इन्जिनियर रिजालले बताए।
“पुलको आरसिसी बिम (प्रिकास्ट ब्रिज गर्डर) पुलभन्दा बाहिरको जमिनमा बनाइएको छ। त्यसलाई क्रेनले उचालेर पुलको दुवैतर्फको पिल्लरमा राख्नुपर्नेछ”, उनले भने, “काम नयाँ पुलमा हुने भए पनि पुरानो पुलसँगै रहेकाले काम गर्ने क्रममा आई पर्न सक्ने जोखिमलाई मध्यनजर गरी सडक सवारी रोकेर काम गर्न लागिएको हो।”
काम भइरहँदा सवारी साधन आवागमनमा बाधा पर्न जाने भएकाले सवारीको चाप नहुने समय (रातिको समय)मा काम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
मिश्रका अनुसार एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधनलाई पूर्णरुपमा रोकिनेछ। सम्पूर्ण चालकलाई आफ्नो लेनमा अनुशासन कायम राख्न र जथाभावी ओभरटेक नगर्न जिल्ला प्रहरी कार्यालय धादिङले सूचना जारी गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ असार २०८१, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
कञ्चनपुरको मोहना नदी-दैजी सडकको ठेक्का तोडियो
मोरङको रतुवा—केशलिया सडक निर्माणको ठेक्का तोडियो
नागढुङ्गा–नौबिसे सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो