रामपुर कृषि क्याम्पस सङ्कटमा

सोमबार, १५ असोज २०७५, १५ : ०४
रामपुर कृषि क्याम्पस सङ्कटमा

–शरद शर्मा
चितवन । मुलुककै जेठो रामपुर कृषि क्याम्पस सङ्कटमा परेको छ । कृषि तथा वन विश्वविद्यालय ९कृविवि० खोल्ने निर्णयसँगै त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्ययन संस्थान रुपमा परिचित उक्त क्याम्पस सङ्कटमा परेको हो ।

पहिले रहेको रामपुरस्थित उक्त क्याम्पसको सम्पूर्ण भौतिक संरचना कृषि तथा वन विश्वविद्यालयलाई सरकारले दिने निर्णय गरेसँगै उक्त क्याम्पस विस्तापित हुन पुगेको छ । सरकारले उक्त क्याम्पसमा रहेको जग्गा सहितको भौतिक संरचनामा कृविवि बनाउने निर्णय गरेपछि अहिले उक्त क्याम्पस चितवनकै खैरहनी नगरपालिका स्थित खैरहनी माविकोे भवनमा सरेको छ ।
चार कोठे भवनमा उक्त क्याम्पसका विद्यार्थी पढाउनका लागि प्रर्याप्त भौतिक पूर्वाधार नभएको क्याम्पस प्रमुख मिलन सुवेदीले बताउनुभयो ।विसं २०२९ मा स्थापना भएको त्रिविको आङ्गिक ‘क’ श्रेणीको उक्त क्याम्पस रामपुरमा ३६२ बिघा क्षेत्रफलमा फैलिएको थियो तर कृविवि आएपछि अहिले उक्त क्याम्पस भौतिक पूर्वाधार विहीन भएर हाल नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुँदै आएको छ ।

“पहिलेको भौतिक संरचना सहित जग्गा सबै सरकारले कृविविलाई दिने निर्णय गरेसँगै हामी सडकमा आयौं” उहाँले भन्नुभयो,“अहिले भने नगरपालिकाको उपलब्ध गराएको चारकोठे भवनमा जेनतेन कक्षा सञ्चालन गरिरहेका छौं । उक्त क्याम्पसको सबै भौतिक संरचना कृविविले लिएपछि विगत छ वर्षसम्म नयाँ भर्ना समेत रोकिएको थियो । त्रिवि र कृविविबीच भौतिक संरचना हस्तान्तरण सम्बन्धी विवादले नयाँ भर्ना रोकिएकामा गत वर्षबाट नगरपालिकाले भवन उपलब्ध गराउने भएपछि नयाँ भर्ना शुरु गरिएको क्याम्पस प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

अहिले कृषि स्नातक तहतर्फ प्रथम सेमेष्टरमा ५० विद्यार्थी अध्ययन गर्दै आएका छन् । त्रिवि र कृविविबीच भौतिक संरचना सम्बन्धी विवाद चुलिएपछि सरकारद्वारा गठित गीताभक्त जोशीको संयोजकत्वको समितिले दिएको सुझावअनुसार सरकारले गत वर्ष उक्त क्याम्पसलाई खैरहनीको कङ्काली सामुदायिक वनको करीब ३५४ बिघा जमिन उपलब्ध गराउने निर्णय गरेको थियो तर उक्त जग्गा हालसम्म पनि हस्तान्तरण नभएकाले भौतिक संरचना बनाउन नसकिएको क्याम्पसका कर्मचारी टङ्कराज सापकोटाले जानकारी दिनुभयो ।

भौतिक संरचना नहुँदा कृषिजस्तो प्राविधिक विषयमा प्रयोगात्मक कक्षा समेत सञ्चालन हुनसकेको छैन । स्नातक तह पढाउनका लागि कम्तीमा छ वटा प्रयोगशाला आवश्यक पर्नेमा अहिले कुनै पनि प्रयोगशाला नभएकाले क्याम्पसले प्रयोगात्मक कक्षा सञ्चालनका लागि नगरपालिकासँग कृषि शाखाको भवन माग गरेको छ ।

“जम्मा चार कोठा छ । दुईवटा कोठामा कक्षा सञ्चालन गछांै” उहाँले भन्नुभयो, “अन्य दुई कोठा पुस्तकालय र शैक्षिक शाखा छ । अनि हामीसँग प्रयोगात्मक कक्षा सञ्चालन गर्ने कोठा नै छैन ।” विगतमा धेरै कृषिविज्ञ उत्पादन गरेको कृषि क्याम्पसलाई अहिले सरकारले तलब बाहेक अन्य बजेटसमेत उपलब्ध समेत गराएको छैन । नगरपालिकाले वार्षिक रु ३० लाख क्याम्पस सञ्चालनका लागि सहयोग उपलब्ध गराउँदै आएको छ ।

क्याम्पस प्रमुख सुवेदीले भन्नुभयो, “आगिक क्याम्पसलाई सङ्घीय सरकारले बजेट छुट्टाउन पर्ने भए पनि हाल नगरपालिकाले गरेको सहयोगमा क्याम्पस सञ्चालन गर्नुपर्ने बाध्यता छ तर नगरपालिकाको बजेटबाट मात्र क्याम्पस सञ्चालन हुन कठिन छ ।”प्रथम सत्रमा अध्ययनरत विद्यार्थी सोनिका परियारले भर्ना भएको तीन महिना वितिसक्दा पनि राम्रोसँग पठन पाठन हुन नसकेको बताउनुभयो ।
उहाँले कृषि जस्तो विषयमा सैद्धान्तिक पढाइ मात्र गराएर प्रयोगात्मक कक्षा सञ्चालन नगरेको गुनासो गर्नुभयो । नगरपालिकाका प्रमुख लालमणि चौधरीले चितवनमा कृविवि स्थापना भएपछि रामपुर कृषि क्याम्पस नचाहिने तर्क गर्ने केही मानिसका कारण क्याम्पस सङ्कटमा परेको बताउनुभयो ।

उहाले भन्नुभयो,“ देश तथा विदेशमा परिचत कृषि विज्ञ उत्पादन गरेको क्याम्पस अहिलेको अवस्था पुग्दा दुःख लागेकाले हामी क्याम्पसलाई पुनः पहिले कै अवस्थामा पु¥याएर छाड्छौ ।’’नगर प्रमुख चौधरी पनि सोही क्याम्पसबाट कृषिमा स्नातक तह उत्र्तीण विद्यार्थी हो ।

डिन कार्यालय नहुँदा समस्या
उक्त क्याम्पससँगै रहेको कृषि डिन कार्यालय २०६७ सालमा कृविवि आएपछि २०६९ सालमा विस्थापित भई काठमाडौँमा सम्पर्क कार्यालय मार्फत सञ्चालन हँुदै आएको छ । डिन कार्यालय चितवनमा नहुँदा आर्थिक व्ययभार थपिनुका साथै अन्य कृषि विषय सम्बन्धी नीति निर्माण गर्न समेत समस्या भएको छ ।
क्याम्पस त्रिवि कर्मचारी सङ्घका अध्यक्ष शान्तराम दराईले डिन कार्यालय चितवनमा ल्याउनका लागि पटक–पटक पहल गर्दा पनि अझै नआएको बताउनुभयो ।

त्रिविअन्तर्गत कृषि र पशु विज्ञान अध्ययन संस्थान रहेका चार वटा आङ्गिक क्याम्पस ९रामपुर, पक्लिहवा, लमजुङ र गौरादह कृषि क्याम्पस०को केन्द्रको रुपमा डिन कार्यालय चितवन नै रहनुपर्ने भएपनि डिन कार्यालय भाडामा लिई काठमाडौँमा सञ्चालन भइरहेको छ ।नगरपालिकाका प्रमुख चौधरीले डिन कार्यालय नहुँदा क्याम्पसको शैक्षिक कार्यक्रम नै प्रभावित भएकोले चाँडै नै चितवन ल्याउन पहल गर्ने बताउनुभयो । -रासस

प्रतिक्रिया दिनुहोस