काठमाडौं। आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका- ६ बस्ने ३१ वर्षीय राजु सुनार, गोकर्णेश्वर- ८ बस्ने २६ वर्षीय आदर्श क्षेत्री, गोकर्णेश्वर नगरपालिका- १ बस्ने २० वर्षीया अस्मिता खत्री र गोकर्णेश्वर- २ बस्ने ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन् ।
उनीहरूलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिकाबाट सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए ।
एसपी अधिकारीका अनुसार उनीहरूले गोकर्णेश्वर नगरपालिका भित्र गैरकानूनी रूपमा 'बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान २०८०' नामक संस्था स्थापना गरेर विभिन्न वडामा समेत शाखा विस्तार गरेका थिए ।
त्यही संस्थाको आडमा उनीहरूले विभिन्न सरकारी कार्यालय, स्थानीय तह, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना, विभिन्न टोल सुधार एवं उपभोक्ता समितिमा गएर आफूहरू भ्रष्टाचारविरोधी अभियन्ता हौं भन्दै धम्क्याउने गरेका थिए ।
'तिमीहरूको विरुद्धमा भ्रष्टाचार गरेको, कर छली गरेको, आर्थिक अनियमितता गरेको भन्ने उजुरी हामी कहाँ परेको छ, त्यस विषयमा छानबिन गर्न आएका हौं, हामीलाई सबै हिसाबकिताब देखाऊ भन्दै असम्बन्धित सूचना माग्ने, पदाधिकारी तथा कर्मचारीहरूलाई धम्क्याउने, मुद्दा हालिदिन्छु भन्ने गरेको पाइयो,' एसपी अधिकारीले भने ।
उनीहरूले भिडियो बनाई रकमसमेत असुली गरेको तथा पुष्टि नै नभएका कुराहरूलाई सामाजिक सञ्जालमा राखेर चरित्र हत्या गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।त्यसपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको एसपी अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ असार २०८१, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
खैरो हेरोइनसहित युवक पक्राउ
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ