भारत निर्वाचन : जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द

सफल खबर संवाददाता

शुक्रबार, ०४ जेठ २०८१, १० : ०४
भारत निर्वाचन : जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द

जनकपुर । भारतमा हुन गइरहेको लोकसभा निर्वाचनका कारण जनकपुर–जयनगर रेलसेवा भोलि शनिबारदेखि तीन दिन बन्द हुने छ । 

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले भोलिदेखि जेठ ७ गते (सोमबार) सम्म रेलसेवा पूर्ण रूपमा बन्द रहने जानकारी दिए ।

भारतको बिहार राज्यको मधुबनी जिल्लाको संसदीय क्षेत्रमा यही जेठ ७ गते हुने लोकसभा निर्वाचन हुँदै छ । सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै सीमा जिल्ला समन्वय समितिले निर्णय गरेअनुसार ७२ घण्टाका लागि नेपाल रेल्वे सेवा पूर्ण रूपमा बन्द गरिन लागिएको झाले बताए ।

कार्यालयले एक सूचना जारी गर्दै भनेको छ ‘यही जेठ ०५ गते शनिवार देखि०७ गते सोमबार सम्म ३ (तीन) दिनको लागि भंगहा – जनकपुर – जयनगर खण्डमा सञ्चालित रेल्वे सेवा पूर्ण रूपमा बन्द रहने ब्यहोरा सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ ।

०८ गते मंगलबार देखि उक्त खण्डमा साविक बमोजिम नै नियमित रूपमा रेल सेवा सञ्चालनमा आउने ब्यहोरा समेत सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस