नागढुङ्गा–नौबिसे सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भोलि

सफल खबर संवाददाता

आइतबार, ०२ बैशाख २०८१, १६ : ३८
नागढुङ्गा–नौबिसे सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भोलि

काठमाडौं। नागढुङ्गा–नौबिसे सुरुङ मार्गको ‘ब्रेक थ्रु’ सोमवार गरिने भएको छ ।आयोजना प्रमुख नवीनमान श्रेष्ठले सोमवार मध्यान्ह पौने १२ बजे सुरुङको ब्रेक थ्रु गर्ने तयारी रहेको जानकारी दिए । सुरुङ छेड्न २ मिटर मात्र बाँकी रहेको उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको उपस्थितिमा सुरुङ मार्गको ब्रेक थ्रु गरिने छ । फागुन २८ गते नै ब्रेक थ्रु गर्ने तयारी रहे पनि स्थानीयको विरोधका कारण ढिला हुन गएको थियो । नागढुङ्गा–नौबिसे सुरुङ मार्गको आपतकालीन मार्गको ब्रेक थ्रु २०८० साउन २२ गते नै भइसकेको छ ।

४२ महिना भित्र सम्पन्न गर्ने लक्ष राखेर २०७६ कात्तिक ४ गते सुरुङ मार्गको शिलान्यास गरिए पनि कोभिड महामारीका कारण निर्माणकार्य रोकिएको थियो । २ दशमलव ६८ किमी लामो सुरुङ मार्ग बनेपछि राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुङ्गामा सवारी जाम कम हुनेछ ।

काठमाडौंको बलम्बुदेखि धादिङको सिन्ने खोला जोड्ने सुरुङ मार्गको पहुँच सडकको काम पनि तीब्र गतिमा भइरहेको छ । झण्डै २२ अर्ब लागत रहेको यो आयोजना निर्माणको काम जापानीज ठेकेदार कम्पनी हाजमा कर्पोरेसनले पाएको थियो ।सुरुङ मार्गको ब्रेक थ्रु भएपनि यो सडक सञ्चालनमा अझै एक वर्ष लाग्ने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस