नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न प्रधानमन्त्रीको आग्रह

सफल खबर संवाददाता

मंगलबार, २७ चैत्र २०८०, १५ : १८
नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गरेका छन् ।सिंहदरबारमा आज आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न विकास साझेदार र नेपालमा रहेका सबै देशका कूटनीतिक नियोगहरूको महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ थियो ।

'लगानी सम्मेलनमा सक्रिय रूपमा संलग्न हुन र अधिकतम क्षमता बढाउन विकास साझेदारहरू, द्विपक्षीय र बहुपक्षीय विकास साझेदार संस्थाहरू र नेपालमा रहेका कूटनीतिक नियोगहरूबाट सहयोगको अपेक्षा गर्दछौं', प्रधानमन्त्री प्रचण्डले भने ।सङ्घीय सरकारका मन्त्रालयहरूसँगै प्रादेशिक र स्थानीय सरकारका परियोजनाहरूलाई समान प्राथमिकतामा राखिएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले सरकार लगानी मैत्री वातावरण बनाउन कानून परिमार्जन, प्रक्रियागत सुधार गर्न र परियोजना अवधिभर लगानीकर्ताहरूलाई अवरोध हुन नदिने वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

'सम्मेलनले घरेलु निजी क्षेत्र र अन्तर्राष्ट्रिय प्रतिनिधिहरू बीचको अन्तरक्रिया र सञ्जाललाई उत्पादन मूल्य श्रृङ्खलामा लगानी बढाउन, नेपाली उत्पादन एवं सेवाहरूलाई विश्व बजारमा जोड्ने मञ्च प्रदान गर्नेछ', प्रधानमन्त्री प्रचण्डले भने, 'लगानी सम्मेलनको यस मञ्चले लगानीकर्ताहरू, विकास साझेदारहरू, वित्तीय संस्थाहरू लगायत सरोकारवालाहरूलाई एकजुट हुन, अवसरहरू खोज्न, दीर्घकालीन साझेदारीलाई बढावा दिन सहज तुल्याउनेछ ।'

उनले विद्यमान र सम्भावित लगानीकर्ताहरूलाई आवश्यक पर्ने कुनै पनि सहयोग उपलब्ध गराउन नेपाल सरकार तयार रहेको बताए ।सरकारले विभिन्न क्षेत्रमा विदेशी तथा स्वदेशी निजी लगानी आकर्षित गर्न सम्मेलन आयोजना गरेको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले लगानी सम्मेलनको सफलता सम्भावित लगानीकर्ताहरूले देखाएको चासो, कानूनी र नीतिगत सुधारहरूमार्फत अनुकूल व्यापार वातावरणको सृजना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस