पोर्चुगल र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, १४ चैत्र २०८०, १९ : ३४
पोर्चुगल र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा युरोपेली मुलुक पोर्चुगल र क्रोएसिया पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारमा पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा पाँचपोखरी गाउँपालिका–२ सिन्धुपाल्चोक घर भई हाल काठमाडौं बस्ने ३६ वर्षीय मिङमार लामा र मध्य नेपाल नगरपालिका–५ लमजुङ घर भई हाल बौद्ध बस्ने ३६ वर्षकै प्रकाश वंशी ठकुरी रहेका छन् ।

पक्राउ परेका लामाविरुद्ध आमान बोम्जन नामका व्यक्तिले आफूलाई क्रोएसिया पठाइदिन्छु भन्दै तीन लाख लिएर ठगी गरेको भन्दै उजुरी दिएको र ठकुरीले पोर्चुगल पठाइदिने भन्दै विशाल चौहानसमेत तीन जनासँग ११ लाख २७ हजार रकम लिएर ठगी गरेको उजुरी रहेको छ ।

दुवै जनालाई मंगलबार पक्राउ गरेर कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जानकरी दिएको छ ।

प्रतिक्रिया दिनुहोस