ललितपुरमा ग्याङ फाइट हुँदा दुई युवकको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १२ चैत्र २०८०, ०८ : ४८
ललितपुरमा ग्याङ फाइट हुँदा दुई युवकको मृत्यु

काठमाडौ । ललितपुर महानगरपालिका- २६ ढोलाहिटीमा गएराति ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भएको छ। 

आइतबार राति अन्दाजी ११ बजे ढालाहिटीस्थित सडकमै ग्याङ फाइट हुँदा दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए। 

‘घटनामा करिब २८ वर्षाीय रोवश राई र करिव २९ वर्षीय पुजन राईको मृत्यु भएको हो,’ एसपी सुवेदीले भने, ‘घटनामा संलग्न भएको आशंकामा हामीले १८ जनालाई नियन्त्रणमा लिएका छौँ।’ 

मृतक युवाको छात्ती र तिघ्रामा छुरा प्रहार गरेको गहिरो घाउ छ। रोवशको पाटन अस्पताल र पुजनको सुमेरु अस्पतालमा मृत्यु भएको एसपी सुवेदीले जानकारी दिए। 

‘हामीलाई राति ११ बजे खबर आएपछि हाम्रो टोली घटनास्थलमा पुगेको हो,’ एसपी सुवेदीले भने, ‘त्यतिन्जेलसम्म अस्पताल पुर्याइएका दुबै युवाको मृत्यु भइसकेको थियो।’

पाँचथर घर भएका पुजन ललितपुरको खुमलटारमा बस्थे। सुनसरीकाे धरान घर भएका रोवश ढोलाहिटीमै डेरामा बस्ने गरेकाे प्रहरीले जनाएको छ।