इलामका जनताको भावना जित्छु: सुहाङ नेम्वाङ

सफल खबर संवाददाता

आइतबार, ११ चैत्र २०८०, १६ : १८
इलामका जनताको भावना जित्छु: सुहाङ नेम्वाङ

काठमाडौँ । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा नेकपा एमालेले आफूलाई उम्मेदवार बनाउने निर्णयले आफू उत्साहित भएको सुहाङ नेम्वाङले जनाएका छन्। सुहाङ एमाले नेता स्वर्गीय सुवास नेम्वाङका कान्छा छोरा हुन् ।

 

आइतबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सुहाङलाई वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टीको निर्णयपछि गरेको टेलिफोन सम्पर्कमा सुहाङले भने, ‘मलाई पार्टीले विश्वास गरेर उम्मेदवार बनाउने निर्णय गर्‍यो यसमा उत्साहित छु । उत्साहितसँगै जिम्मेवारी पनि थपिएको महसुस गरेको छ ।’

 

उनले आफू इलाम २ बाट उम्मेदवार बन्दै गर्दा नेकपा एमालेको तर्फबाट मात्रै नभएर सिङ्गो इलामका जनताकै भावना समेट्ने गरेर अगाडि बढ्ने पनि बताए ।‘म सिङ्गो इलामका जनताको भावना समेट्नेगरी अघि बढ्ने प्रयास गर्छु’, उनले भने, ‘सवैजना मैदानमा उत्रँदा जित्छु भनेरै उत्रने हो । म पनि जनताको विकास र सम्मृद्धिका एजेण्डा बोकेर जनतामाझ जान्छु ।’

हाल काठमाडौँमा रहेका सुहाङ एकदुई दिनमा चुनावी क्षेत्रमा खटिने बताए ।२०७९ को निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित भएका सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस