मस्कोमा भएको आतङ्कवादी हमलाको सरकारद्वारा निन्दा, दोषीलाई कानूनी कठघरामा ल्याउन माग

सफल खबर संवाददाता

शनिबार, १० चैत्र २०८०, १४ : ५८
मस्कोमा भएको आतङ्कवादी हमलाको सरकारद्वारा निन्दा, दोषीलाई कानूनी कठघरामा ल्याउन माग

काठमाडौं। रुसको राजधानी मस्कोमा शुक्रवार साङ्गीतिक कार्यक्रममा भएको आतङ्कवादी हमलाको नेपाल सरकारले निन्दा गरेको छ ।आतङ्कवादी हमलामा निर्दोष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको सरकारले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले शनिवार एक विज्ञप्तिमार्फत रुसका जनता र सरकारका साथै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

'नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रकारका आतङ्कवादको निन्दा र भर्त्सना गर्दछ, आतङ्कवाद जहाँ र जहिलेसुकै भए पनि त्यसलाई दृढतापूर्वक तथा दृढताका साथ सामना गर्नुपर्ने धारणा राख्छ', विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले मस्कोमा आतङ्कवादी हमलामा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।साथै उक्त जघन्य कार्यमा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो कानूनी कठघरामा ल्याउन सरकारले माग गरेको छ ।

मस्कोको बाहिरी भागमा रहेको कन्सर्ट हलमा भएको गोलाबारी हुँदा ६० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस