एमाले नआए पनि समाजवादी मोर्चा अगाडि बढ्छ : पम्फा भुसाल

सफल खबर संवाददाता

शुक्रबार, ०९ चैत्र २०८०, १६ : १९
एमाले नआए पनि समाजवादी मोर्चा अगाडि बढ्छ : पम्फा भुसाल

काठमाडौं । नेकपा(माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले समाजवादी मोर्चामा सत्तारुढ नेकपा(एमाले) नआए पनि मोर्चा कायम रहने बताएकी छन् । शुक्रवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष भुसालले वामपन्थी दल र समाजवादी हुनुको नाताले समाजवादी मोर्चामा एमाले पनि आउनु राम्रो हुने बताइन् ।

उनले समाजवादी मोर्चा विगतामै बनेको उल्लेख गर्दै अहिले सत्ता समीकरण फेरिँदा एमाले पनि सरकारमा रहेका कारण समाजवादी मोर्चाप्रति एमाले भ्रमित हुननहुने बताइन् ।

एमालेसँग छलफल गरेपछि समाजवादी मोर्चा अझै वृहत् हुनसक्ने उल्लेख गर्दै उनले एमालेसँग सत्ता सहकार्य भइरहेकाले एमाले मोर्चामा नआए पनि आपसी असमझदारी हुनु नहुने बताइन् ।

उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा आबद्ध पार्टीहरूका बीचमा नीति, कार्यक्रमहरूमा सहमति बन्दै गएमा एकताको तहसम्म पुग्ने बताइन् । हाल मोर्चाले समाजवादको आधार तयार पार्ने र सो प्रकारको नीति, कार्यक्रम बनाउने उद्देश्य अनुरूप काम गरिरहेको उनले जानकारी दिइन् । मोर्चाले सरकारको नीति, कार्यक्रम र बजेटलाई समाजवादी बनाउनका लागि सल्लाह सुझाव पनि दिने उनको भनाई छ ।

उपाध्यक्ष भुसालले आम जनतालाई समाजवादको आन्दोलनमा संगठित साझा मोर्चाको रूपमा समाजवादी मोर्चा रहेको पनि बताइन् । उनले आगामी दिनमा वाम ध्रुवीकरण गर्दै देशमा एउटै कम्युनिस्ट पार्टी बनाउने आधार तयार गर्नुपर्ने बताइन् ।

 

प्रतिक्रिया दिनुहोस