भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई लन्डनमा अन्तर्राष्ट्रिय अवार्ड

सफल खबर संवाददाता

शुक्रबार, २५ फागुन २०८०, १० : ४४
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई लन्डनमा अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं।  भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले लन्डनमा एक अन्तर्राष्ट्रिय अवार्ड ग्रहण गरेकी छन् । दाहालले हाउस् अफ कमन्सको टेरेस पेभिलियनमा बिहीबार आयोजित समारोहबीच इपिजी नामक संस्थाले प्रदान गरेको 'पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्ड्स २०२४' अन्तर्गत 'इन्टरनेसनल मेयर अवार्ड' प्राप्त गरेकी हुन् ।लन्डन मेयर सादिक खानले दाहाललाई अवार्ड हस्तान्तरण गरेका थिए ।

'दोस्रो कार्यकाल मेयर निर्वाचित भएर भरतपुरवासी जनताका लागि काम गर्दा अन्तर्राष्ट्रियस्तरबाट जुन खालको मूल्यांकन भयो, यसले ज्यादै खुशी भएको छु,' अवार्ड लिएपछि उनले भनिन् 'यस अवार्डले अझ ऊर्जा, हौसला र जनताको पक्षमा काम गर्नका लागि बल पुग्ने विश्वास छ ।'

आयोजकले अवार्ड दिनुअघि प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी र बाबुको राजनीतिक उत्तराधिकारी भन्दै उनको परिचय दिएका थिए ।

एउटै स्टेजमा लन्डन मेयर सादिक खानले 'लोकल गभरमेन्ट अवार्ड' प्राप्त गर्दा मरिससकी पहिलो मुस्लिम महिला राष्ट्रपति (२०१५ देखि २०१८) अमिना गुरिव फकिमले 'इन्टरनेशनल वुमन अफ द इयर अवार्ड' पाइन् ।उता, भारतीय राजनीतिज्ञ तथा ऋषिहुड युनिभर्सिटीका चान्सलर सुरेश प्रभाकर प्रभुले 'लाइफ टाइम अचिभमेन्ट अवार्ड' प्राप्त गरेका छन् ।

बेलायती उपप्रधानमन्त्री ओलिभर डाउडेनले 'पार्लियामेन्टरियन अफ द इयर' (गभरमेन्ट), राज्यमन्त्री रोबर्ट हाल्फोनले 'मिनिष्टर अफ द इयर', सांसद ग्यारेथ थोमसले 'स्याडो मिनिष्टर अफ द इयर अवार्ड' ग्रहण गरे ।

त्यसैगरि, सनराइज रेडियोले 'मिडिया अफ द इयर अवार्ड' पायो भने इन्टरकन्टिनेन्टल लन्डन ओटुले 'होटल अफ द इयर अवार्ड' पाएको छ । प्रोफेसर जसपाल कोनरले 'डक्टर अफ द इयर अवार्ड' प्राप्त गरे ।

निर्णायकहरूको छनोटमा कुल २४ विद्यामा प्रदान गरिएको उक्त १६ औं वार्षिक अवार्डस् वितरण समारोहको होष्ट सांसद भ्यालिरी भाज थिइन् ।इपिजी बेलायत, भारत र युगान्डामा कार्यालय भएको एउटा आर्थिक तथा रणनीति परामर्श फर्म हो, जसले रणनीतिक सञ्चार, व्यापार र लगानी प्रवर्धन, आर्थिक विश्लेषण एवं विश्वभरका व्यवसाय र सरकारहरुका कर्पोरेट इभेन्ट आयोजना गर्ने गर्दछ ।