जगदुल्ला जलविद्युत् आयोजनाले बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत

सफल खबर संवाददाता

आइतबार, २० फागुन २०८०, ०९ : १७
जगदुल्ला जलविद्युत् आयोजनाले बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत

कर्णाली । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणकार्य सुरु हुने तयारीमा छ। आयोजनाको वित्तीय व्यवस्थापन र निर्माण व्यवसायी छनोटको काम अन्तिम चरणमा पुगेको छ।

कुनै एउटा परियोजना कुन हदसम्म महत्त्वपूर्ण हुन्छ भन्ने उदाहरणसमेत बन्न लागेको छ कर्णाली प्रदेशका लागि जगदुल्ला। प्राकृतिक साधन र स्रोतले सम्पन्न भए पनि लगानीको अभावका पछाडि परेको सो प्रदेशमा दर्जनौं जलविद्युत् आयोजना पहिचान भएका छन्। निर्माणमा भने कुनै पनि आयोजना अगाडि बढ्न सकेको छैन।

सरकारको अध्ययनअनुसार कर्णाली प्रदेशको कुल ऊर्जा उत्पादन क्षमता (कर्णाली, भेरी, तिलालगायतका नदी करिडोरमा) १८ हजार मेगावाट बराबर छ। हाल आठ दशमलव ५५ मेगावाट बिजुली दैलेखमा उत्पादन भएको छ। सबैभन्दा कम डोल्पा र जुम्लाबाट समान शून्य दशमलव २० मेगावाटमात्रै उत्पादन भएको छ। दैलेखको पदमखोला र द्वारीखोला साना जलविद्युत् आयोजनाबाट क्रमशः चार दशमलव आठ मेगावाट र तीन दशमलव ७५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।

अध्ययन भएका, अध्ययनका क्रममा रहेका आयोजना कहिले निर्माणमा जाने हुन्, त्यसले कहिले बिजुली उत्पादन गर्ने हुन् भन्ने घोषणा गरिहाल्नु तत्कालका लागि हतारो हुन जान्छ। तर चालु आर्थिक वर्षमा नै निर्माण सुरू गर्न लागिएको एउटा आयोजना नै कर्णाली प्रदेशका लागि महत्त्वपूर्ण आधारस्तम्भ बनेर खडा भएको छ। डोल्पामा आयोजनास्थल रहेको जगदुल्ला अर्धजलाशयुक्त प्रकृतिको आयोजनाले समग्र कर्णालीको मुहार फेर्ने त्यसमा संलग्न अधिकारीहरूको दाबी छ।

कुल एक सय छ मेगावाट क्षमताको सो आयोजनाको आवश्यक तयारीको काम पूरा भइसकेको छ। विद्युत्  विकास विभागबाट विद्युत् उत्पादन अनुमतिपत्रसमेत पाइसकेको छ। वित्तीय व्यवस्थापनको काम अन्तिम चरणमा छ। परामर्शदाता र निर्माण व्यवसायी छनोटका लागि विश्वव्यापीरूपमा बोलपत्र सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए।

आयोजना कर्णाली प्रदेशका लागि किन र कुन आधारमा महत्त्वपूर्ण छ ? भन्ने प्रश्नको उत्तरमा प्रमुख कार्यकारी अधिकृत सापकोटा भन्छन्, ‘हालसम्म यस प्रदेशमा कुनै पनि ठूला आयोजना निर्माणको चरणमा प्रवेश गरेको छैन। निजी क्षेत्रले साना आयोजना निर्माण गरेको भए पनि त्यसको खासै प्रभाव परेको छैन। प्रदेशकै हालसम्मको ठूलो आयोजना हामी निर्माण सुरु गर्ने अन्तिम चरणमा पुगेका छौं। त्यसकारण महत्त्वपूर्ण छ।’

प्रतिक्रिया दिनुहोस