काठमाडौं । कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्यनयका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुनेगरी निर्धारण गरिएको हो ।
हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी भइरहेको छ । प्रस्तावित आयोजनाको बाँध सेती नदी र कालीगण्डकी नदीको दोभानबाट करिब १० किलोमिटरमाथि उर्लेनी खङ्गकोट कालीगण्डकी गाउँपालिका–६ गुल्मी र बिहादी गाउँपालिका–२ बर्राचौर पर्वत क्षेत्रमा पर्नेछ ।
आयोजनामा कुल २४४ मिटर अग्लो बाँध निर्माण हुने जनाइएको छ । बाँधमा पानी जम्मा हुँदा करिब २९ किलोमिटर लामो खनियाघाटसम्म ताल बन्नेछ । यस आयोजनाको नेट हेड १८३ दशमलव चार मिटर छ ।
डिस्चार्ज ४०५ घनमिटर प्रतिसेकेण्ड र कुल वार्षिक ऊर्जा उत्पादन एक हजार ६४५ दशमलव ६५ गिगावाट घण्टाबराबर हुने आयोजनाले जनाएको छ । यस आयोजनामा चारवटा स्टिल पेन स्टक, विद्युत्गृह चारवटा प्रान्सिस टर्बाइन प्रस्ताव गरिएको छ ।
आयोजनाको विद्युत्गृह बिहादी गाउँपालिका बर्राचौर पर्वतमा प्रस्ताव गरिएको छ । आयोजनाले पर्वतको जलजला गाउँपालिका, कुश्मा नगरपालिका, फलेवास नगरपालिका र बिहादी गाउँपालिकाका विभिन्न वडा प्रभावित हुनेछ । यस्तै बागलुङको बागलुङ नगरपालिका, जैमिनी नगरपालिकाका विभिन्न वडा प्रभावित हुनेछ ।
गुल्मीको कालीगण्डकी गाउँपालिका र स्याङ्जाको गल्याङ नगरपालिका प्रभावित हुनेछ । आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय मूल्याङ्कन विद्युत् विकास विभाग र परामर्शदाता जेभी स्मेक इन्टरनेसनल तथा जेड कन्सल्टले गरिरहेको छ ।
प्रस्तावित आयोजना पृथ्वी राजमार्ग, पोखरा–बागलुङ सडकखण्ड, दोबिल्ला–फलेबास सडक कालीगण्डकी लोकमार्ग तथा कालीगण्डकी करिडोर हुँदै पुग्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० चैत्र २०८२, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राहुघाट जलविद्युत् आयोजनाको सुरुङका लागि संरचना तयार
एउटै वडामा पाँच जलविद्युत् आयोजना
एउटै खोलामा ६ जलविद्युत् आयोजना निर्माण
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा