म्याग्दी । म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका लागि सुरुङभित्रका संरचना तयार पारिएको छ ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरिरहेको उक्त आयोजना रघुगङ्गा गाउँपालिका– ४ र ५ को सिमानामा छ ।
आयोजनाको बाँधदेखि सोही पालिकाको वडा नम्बर ३ तिल्केनीचौर जोड्ने मुख्य सुरुङ, पेनस्टक पाइपलाइन, भर्टिकल प्रेसर साफ्ट, वटम प्रेसर साफ्ट, टप पेनस्टक र पेनस्कट पाइपलाइन जडान सकिएको जनाइएको छ ।
कूल ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ, एक किलोमिटर ८२ मिटर लामो पेनस्टक पाइपलाइन, १९६ मिटर भर्टिकल प्रेसर साफ्ट, ६१ मिटर अग्लो सर्ज साफ्ट, ३२९ मिटर वटम प्रेसर साफ्ट, ५०९ मिटर टप पेनस्टक जडान भएको छ ।
२०८१ साल साउन १५ गते ‘ब्रेकथ्रु’ भएको आयोजनाको मुख्य सुरुङको पलास्टर र ढलान सकिएको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए । ‘बाँधस्थल नजिकको अडिट १, अधेरीखोलाको अडिट २, पिप्लेको अडिट ३ र तिल्केनीचौरको अडिट ४ को जक्सनमा मात्र ग्राउटिङ र लाइनिङ बाँकी छ,’ उनले भने, ‘बटरफ्लाई भल्ब च्याम्बर र म्यानुअल च्याम्बरको संरचना पनि तयार भइसकेको छ ।’
हालसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको आयोजनाको २०८२ फागुनभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यसहित बाँध, सुरुङ, विद्युत्गृह, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फको कामलाई क्रमशः पूर्णता दिने चरणमा रहेको प्रबन्ध सञ्चालक केसीले बताए ।
रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नम्बर ५ झिँको फेदीमा ३१ मिटर लामो र १७ मिटर अग्लो बाँध निर्माण भएको छ । ११९ दशमलव सात मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्डर (पानी थिग्राउने पोखरी) निर्माण ९० प्रतिशत सम्पन्न भएको छ ।
तिल्केनी चौरमा विद्युत्गृह निर्माण ९८ प्रतिशत सम्पन्न भएको छ । विद्युत्गृहबाट निस्कने पानी कालीगण्डकीमा मिसाउने १२८ मिटर लामो टेलरेस डक्ट निर्माण सम्पन्न भएको छ । विद्युत्गृहको संरचना निर्माण सकेर २० मेगावाट क्षमताको एउटा युनिटमा टर्वाइन, जेनेरेटरका पाट्स जडान सकेर दोस्रो युनिटको उपकरण जडान अन्तिम चरणमा रहेको आयोजनाका व्यवस्थापक राजबहादुर विष्टले बताए ।
‘२०७६ साल कात्तिकमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले विद्युत्गृहको उपकरण आयात सकेर जडानलाई तीव्रता दिएको छ,‘ उनले भने, ‘विद्युत्गृह नजिकै स्वीचयार्डका लागि फाउण्डेशन निर्माण सम्पन्न भई स्विचयार्डको उपकरण जडानकार्य भइरहेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ पुस २०८२, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एउटै वडामा पाँच जलविद्युत् आयोजना
एउटै खोलामा ६ जलविद्युत् आयोजना निर्माण
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो