प्रतिनिधि सभा शून्य समयमा सांसदहरूले उठाए समसामयिक विषयमा सवाल

सफल खबर संवाददाता

सोमबार, १४ फागुन २०८०, १३ : ३८
प्रतिनिधि सभा शून्य समयमा सांसदहरूले उठाए समसामयिक विषयमा सवाल

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।सोमवार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले एक स्वरले सो घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालामाथि अझै कारबाही नगरिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आक्रोश समेत व्यक्त गरेका छन् । प्रमुख प्रतिपक्ष एमालेका सांसद अमृतलाल राजवंशीले बालकुमारी घटनाको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरे । उनले सो घटनामा दोषी करारहरूमाथि कडा कारबाही गर्न पनि सरकारलाई दबाब दिए । 

सांसद राजवंशीले भने, ‘दुग्ध किसानहरूले आफ्नो दुधको पैसा करिब ६ अर्ब रुपैयाँ पाउन बाँकी छ । त्यो अविलम्ब सरकारले उनीहरूलाई उपलब्ध गराओस् । त्यसैगरी मिटरब्याजी र लघुवित्त पीडितहरूको समस्या सरकारले यथाशीघ्र सम्बोधन गरोस् भन्ने म चाहन्छु । बालकुमारी घटनाको रिपोर्ट आएको एक हप्ता भइसक्यो । त्यो तुरुन्त सार्वजनिक होस् । र दोषीमाथि कडा भन्दा कडा कारबाही गरियोस् ।’

यता, सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले सबैभन्दा ठुलो भ्रष्टाचार काण्डको रूपमा रहेको एनसेल छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारलाई दबाब दिए । उनले मिटरब्याज पीडित, लघुवित्त पीडित र दुध किसानहरूको माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई सचेत गराए । 

सांसद केसीले भने, ‘नेपालको इतिहासकै सबैभन्दा ठुलो भ्रष्टाचार काण्डको रूपमा चर्चित रहेको एनसेल छानबिन समितिको प्रतिवेदन प्रस्तुत भइसकेको छ । यो प्रतिवेदनलाई केवल पुतलीको खेलजस्तो नाटक मञ्चन गर्ने काम नहोस् । त्यसको वास्तविकता नेपाली जनताले थाहा पाउनुपर्छ । यो खर्बौँको भ्रष्टाचार काण्ड यथार्थमा जे हो, त्यो संसदमार्फत जनतामा पुग्नुपर्दछ । र, संसदले सामूहिक रूपबाट त्यसको बारेमा छलफल गर्नुपर्छ भन्ने मेरो जोडदार माग छ । मिटरब्याज पीडित र दुध किसानहरूको समस्या समाधान गर्न सरकार तुरुन्तै लागोस् ।’

अर्का सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) अम्मरबहादुर थापाले पनि दुध किसानको भुक्तानी तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए । उनले विकास आयोजनाहरूका लागि भुक्तानी रोक्ने काम गरेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गरे । 

सांसदहरूले जनताको पैसा हिनामिना गर्ने सहकारीमाथि सरकारले कडा कारबाही गर्नुपर्ने बताएका छन् । काँग्रेस सांसद अम्बिका बस्नेतले सहकारी पीडितहरुलाई न्याय दिन पनि दोषी सहकारीमाथि कडा कारबाही गर्न सरकारलाई सचेत गराइन् । उनले मिटरब्याज पीडितहरूको माग सम्बोधन नगरेको भन्दै सरकारको आलोचना गरिन्ि। 

 

प्रतिक्रिया दिनुहोस