समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण प्रक्रिया प्रारम्भ

सफल खबर संवाददाता

विहीबार, ०५ चैत्र २०८२, १२ : २६
समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण प्रक्रिया प्रारम्भ

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट चयन भएका सांसदलाई औपचारिक प्रमाणपत्र प्रदान गर्ने कार्य सुरु भएको छ। निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका तर्फबाट निर्वाचित ११० जना सांसदलाई प्रमाणपत्र वितरण गर्न थालिएको हो।

यसअघि आयोगले सार्वजनिक गरेको विवरण अनुसार समानुपातिकतर्फ कुल ११० सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका ५७, नेपाली काँग्रेसका २०, नेकपा एमालेका १६, नेकपाका ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका समान ४-४ जना प्रतिनिधि निर्वाचित भएका छन्।

प्रमाणपत्र वितरण सम्पन्न भएपछि आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को समग्र प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी गरेको छ। उक्त प्रतिवेदन बुझाइएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने मार्ग प्रशस्त हुने बताइएको छ।