हामी सधैँ कम्युनिष्टको पछि लाग्ने हो ? भन्दै डा. शेखर कोइरालाले उठाए प्रश्न

सफल खबर संवाददाता

आइतबार, ०६ फागुन २०८०, १९ : ०७
हामी सधैँ कम्युनिष्टको पछि लाग्ने हो ? भन्दै डा. शेखर कोइरालाले उठाए प्रश्न

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कार्यकर्ताहरूले आफूलाई सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो भन्ने प्रश्न गरेको बताएका छन् । महासमिति बैठकको अघिल्लो दिन आइतबार आयोजक एक चियापान कार्यक्रममा उनले यसको जवाफ महासमिति बैठकबाट खोज्नुपर्ने बताए ।

‘म जिल्ला जिल्ला घुम्दाखेरि साथीहरूको एउटै प्रश्न हुन्छ-के हामी सधैँ कम्युनिष्ट पछि लागेर हिँड्ने हो, हामीले एक्लै चुनाव कहिले लड्ने हो भनेर सोध्नुहुन्छ’, उनले भने । काँग्रेसको भोट प्रतिशत घट्दै गइरहेकाले पनि कम्युनिष्टहरुको पछि लागेर हिँड्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

काँग्रेसको भोट घटिरहेका बेला सरकारमा छौँ भनेर खुशी हुनुपर्ने कारण नभएको नेता कोइरालाको भनाइ छ । ‘सरकारमा छदैछौं भनेर ठिक लाग्ला । तर भोलि हाम्रा सन्ततिहरूले हामीहरूलाई सोध्ने छन् कि छैनन् भन्ने पनि हामीले बुझन जरुरी छ’, उनले भने, ‘भोट प्रतिशत ३४/३५ प्रतिशतबाट घट्दै घट्दै २७ प्रतिशतमा आएको छ क्यारे हाम्रो । साढे ७ प्रतिशत भोट घटेको छ । यो किन घटिराखेको छ भनेर हामीले विश्लेषण गरिराखेका छैनौँ ।’

प्रतिक्रिया दिनुहोस