एसपीहरुलाई गृहमन्त्रीको निर्देशन : ‘कमजोरी देखिए तत्काल कारबाही गरिनेछ’

सफल खबर संवाददाता

विहीबार, ०३ फागुन २०८०, १० : १४
एसपीहरुलाई गृहमन्त्रीको निर्देशन : ‘कमजोरी देखिए तत्काल कारबाही गरिनेछ’

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरुवा भएर विभिन्न जिल्ला तथा कार्यालय प्रमुखका रूपमा गएका प्रहरी उपरीक्षक (एसपी)हरूलाई कार्यकाल सफलताको शुभकामना दिँदै शान्ति सुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्न निर्देशन दिएका छन् । माघ १ गते २२ वटा जिल्ला प्रहरी कार्यालय, ७ वटा प्रहरी गण, ४ वटा ट्राफिक प्रहरी कार्यालय र १ अन्य गरी ३४ जना एसपीहरूलाई नयाँ प्रमुखका रूपमा सरुवा गरिएको थियो।

बिहीबार बिहान गृह मन्त्रालयमा सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहितको उपस्थितिमा भएको शुभकामना तथा निर्देशन कार्यक्रममा  गृहमन्त्री श्रेष्ठले सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य किटान गरेर कार्यक्षेत्रमा खट्न आग्रह गरेका छन् । सरकारले पहुँच र विभिन्न स्वार्थका आधारमा होइन क्षमता, कार्यदक्षता र अवसरको मापदण्ड बनाएर सरुवा गर्ने नीति अगाडि बढाइसकेकोले बिना सङ्कोच, दबाब र प्रभाव मुक्त भएर कानुन बमोजिम प्रशासनिक र सुरक्षा चुनौती सामना गर्न गृहमन्त्री श्रेष्ठले निर्देशन दिए। 

अब सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल नचल्ने र जिम्मेवारी निर्वाहमा कमजोरी देखिए तत्काल कारबाही गरिने उनले बताए। प्रमुखको जिम्मेवारी पाउन दल एवम् नेताहरूको ढोका चहार्ने, बिचौलियामार्फत घुसको अफर गर्ने र आफूले जिम्मेवारी नपाए जिम्मेवारी पाउने सहकर्मीको बदनाम गर्ने प्रवृत्ति त्याग्न समेत उनले प्रहरी अधिकारीहरूलाई निर्देशन दिए।

लागूऔषध नियन्त्रण र कारोबारीलाई कडा कारबाही गर्न, त्यसविरुद्ध युवाहरूबिच सचेतना कार्यक्रम गर्न, सुधार केन्द्रहरू बनाउन, यी सबै योजनामा प्रदेश तथा पालिका सरकारसँग समन्वय गरेर काम गर्न र मिटरब्याजीको नाममा कुनै बिचौलिया देखिए ध्यान दिएर कारबाहीमा गर्न समेत उनले निर्देशन दिए।

मन्त्रालयले प्रहरी अधिकारीहरूको सरुवा, काज सरुवा र पदस्थापनमा निश्चित मापदण्ड तय गरिसकेको छ। त्यही मापदण्डअनुसार एसपीहरूको नयाँ जिम्मेवारी तोकिएको हो।  पहुँच र भनसुन आधारमा नभएर सेवाअवधि, क वा ख वर्गका जिल्लामा काम गरेको आधार, जिल्ला प्रमुखको रूपमा काम गरेको आधार र एउटै जिम्मेवारीमा नदोहोरिने गरी मापदण्ड बनाइएको हो।

प्रतिक्रिया दिनुहोस