मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आह्वान

सफल खबर संवाददाता

सोमबार, २२ माघ २०८०, ११ : ५०
मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आह्वान

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको रिक्त स्थानमा पदपूर्तिका लागि आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको हो । रिक्त २३ पदमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानून बमोजिम उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार सोही प्रयोजनका लागि आयोगले योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरिएको हो । ‘मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ’, शर्माको विज्ञप्तिमा भनिएको छ, ‘आयोगले नियमितरुपमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरू मार्फत मतदाता नामावली दर्ता गर्ने कार्य गर्दै आएको छ।

साथै नागरिकको सहजताको लागि बाह्य जिल्लाबाट मतदाता नामावली दर्ता गर्न सकिने सुविधा समेत उपलब्ध गराएको छ। मतदाता दर्ता सम्बन्धी विद्यमान व्यवस्था बमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग विश्वस्त छ। तथापि, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ।’ २०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन भएको थियो भने २०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो । विभिन्न कारणले निर्वाचित जनप्रतिनिधिको निधन भएपछि आयोगले उपनिर्वाचनको तयारी थालेको हो ।