कैलाली र कञ्चनपुरको साढे ५ हजार हेक्टर जग्गामा बाह्रै महिना सिँचाइ सुविधा

सफल खबर संवाददाता

शुक्रबार, १९ माघ २०८०, १४ : ०२
कैलाली र कञ्चनपुरको साढे ५ हजार हेक्टर जग्गामा बाह्रै महिना सिँचाइ सुविधा

कैलाली। कैलाली र कञ्चनपुरमा डिप तथा स्यालो ट्युबेलमार्फत पाँच हजार चार सय ८७ हेक्टर जग्गामा बाह्रै महिनाका लागि सिँचाइ सुविधा उपलब्ध गराइएको छ ।

 

भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन विकास कार्यालयले दिएको जानकारीअनुसार पुरानो र प्रदेश संरचनापश्चात् अहिलेसम्म पाँच हजार चार सय ८७ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराइएको हो ।

डिभिजन प्रमुख श्रवण खनालका अनुसार प्रदेश स्थापनापश्चात् कैलाली, कञ्चनपुर र डडेल्धुरामा गरी एक सय ४० डिप ट्युबेल जडान गरिएको छ । यी क्षेत्रमा अहिले बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध भएको उनको भनाइ छ ।

जडान गरिएका डिप ट्युबेलमध्ये ९१ चलिरहेका छन् भने अन्य संरचना निर्माणका क्रममा रहेको जनाइएको छ । विशेष गरी कुलो, नहर नभएको ठाउँमा र भएको ठाउँमा पनि बाह्रै महिना सिँचाइ उपलब्ध गराउने गरी किसानको खेतबारीमा डिप र स्यालो ट्युबेल जडान भएको उनले बताए ।

 

गत आर्थिक वर्षसम्म कैलाली र कञ्चनपुरमा एक हजार एक स्यालो ट्युबेल जडान गरिएकामा चालू आवदेखि स्यालो ट्युबेलका लागि बजेट विनियोजन नगरिएको डिभिजन प्रमुख खनालले बताए ।​​

स्यालो ट्युबेल जडानको कार्य स्थानीय तहलाई हस्तान्तरण गरिएकाले डिभिजन कार्यालयले त्यसका लागि बजेट विनियोजन नगरिएको जनाएको छ । स्यालो ट्युबेल जडानका लागि वित्तीय हस्तान्तरणअन्तर्गत रु १२ लाख बजेट स्थानीय तहलाई दिएको डिभिजन प्रमुख खनालले जानकारी दिए ।

कैलालीका १३ स्थानीय तहमध्ये गोदावरी नगरपालिकामा सात, गौरीगङ्गा नगरपालिकामा आठ, घोडाघोडी नगरपालिकामा आठ, लम्कीचुहा नगरपालिकामा एक, भजनी नगरपालिकामा तीन, धनगढी उपमहानगरपालिकामा दुई, बर्दगोरिया गाउँपालिकामा चार, कैलारी गाउँपालिकामा एक, जोशीपुरमा गाउँपालिकामा छ डिप ट्युबेल जडान गरिएको जनाइएको छ ।

अन्य डिप ट्युबेल कञ्चनपुर र डडेल्धुरामा जडान गरिएको जनाइएको छ ।कैलालीको चुरे र मोहन्याल गाउँपालिकामा डिप ट्युबेल जडानका लागि अध्ययन भइरहेको सो कार्यालयले जनाएको छ ।एक डिप ट्युबेल जडानका लागि झन्डै ८५ लाख रुपैयाँ खर्च लाग्ने गरेको जनाइएको छ ।कैलाली, कञ्चनपुर र डडेल्धुरामा प्रदेश, प्रदेश पूर्वाधार र सङ्घ सशर्त अनुदानबाट डिप ट्युबेलका लागि बजेट विनियोजन हुँदै आएको डिभिजन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस