भरतपुर महानगरले भव्य रुपमा मनायो शिक्षा दिवस, महानगरको शिक्षा ऐन कार्यान्वयनको चरणमा

सफल खबर संवाददाता

शनिबार, २३ भदौ २०७५, १८ : ०६
भरतपुर महानगरले भव्य रुपमा मनायो शिक्षा दिवस, महानगरको शिक्षा ऐन कार्यान्वयनको चरणमा

चितवन । भरतपुर महानगरपालिका र शिक्षा विकास तथा समन्वय इकाइको संयुक्त आयोजनामा शनिबार भरतपुरको नारायणी नमुना माध्यमिक विद्यालयमा एक भव्य कार्यक्रमकाबीच ३९ औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस मनाइएको छ । कार्यक्रमको चितवन क्षेत्र नं २ का सांसद कृष्णभक्त पोख्रेल तथा भरतपुर महानगर प्रमुख रेनु दाहलले संयुक्त रुपमा गमला पानी सिंचाई गरी उद्घाटन गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि माननीय सांसद कृष्ण भक्त पोख्रेलले विद्यालयहरुको समस्याका बारेमा चर्चा गर्दै न्युन विद्यार्थीहरु भएका विद्यालयहरु मर्ज गर्दा पहाडमा समस्या हुने हुँदा अवस्था हेरेर मर्ज गर्नुपर्ने बताउनुभयो । गुणस्तरीय शिक्षामा विद्यालयहरुले जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

 भरतपुर महानगरपालिकाको शिक्षा ऐन कार्यान्वयनको चरणमा गइरहेको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो । महानगर प्रमुख दाहालले भरतपुर महानगरले शिक्षा ऐन पारित गरेर कार्यान्वयन चरणमा रहेको बताउनुभयो ।
कार्यक्रममा महानगर प्रमुख दाहालले शिक्षालाई प्राविधिक, वैज्ञानिक र जिवनउपयोगि बनाउनु पर्नेमा जोडसमेत  दिनुभएको थियो । उहाँले भन्नुभयो, ‘अबको शिक्षा बैज्ञानिक, सीपमुलक र व्यवहारीक हुन जरुरी छ ।’ भरतपुर महानगरले शैक्षिक गणुस्तर र भौतिक पूर्वाधार विकासलाई सँगसँगै लैजाने उहाँको भनाइ थियो । ‘गुणस्तरिय शिक्षा दिन जरुरी छ, विद्यालयहरु प्रविधिमैत्री हुनुपर्छ, यसमा महानगरले जोड दिइरहेको छ’ महानगर प्रमुख दाहालले भन्नुभयो ।
कार्यक्रमको अध्यक्षता समेत गर्नुभएकी महानगर प्रमुख दाहालले अब शिक्षक शिक्षिकाहरुले शैक्षिक गुणस्तरमा सम्झौता गर्न नुहने बताउनुभयो । उहाँले थप्नुभयो तपाई शिक्षक शिक्षिकाहरु आजैबाट इमानदारीताकासाथ लाग्नुस् । आगामि वर्ष खराब नतिजा ल्याउने शिक्षक शिक्षिका वा विद्यालयहरुलाई कारबाही गरिन्छ  । राम्रो नतिजा ल्याउने विद्यालय र शिक्षक शिक्षिकालाई पुरस्कृत गरिनेछ ।

कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा विकास भइरहेको बताउँदै यसमा सुधारको खाँचो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नैतिक शिक्षा कमजोर हुँदै गएको छ, शिक्षामा लगानी पुगेको छैन ।’

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दीपेन्द्र सुवेदीले जिल्लाको शैक्षिक अवस्थाको बारमो जानकारी दिनुभएको थियो ।
सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद सुेवदी, नेकपाका यमबहादुर परियार र राष्ट्रिय जनमोर्चा नेपालका डम्बर पुरीलगायतले मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यालय, विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । उत्कृष्ट नतिजा ल्याउनको लागि अध्यापन गर्नुभएका शिक्षक, शिक्षिकाहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस