उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सफल खबर संवाददाता

बुधबार, १० माघ २०८०, १५ : ३९
उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पौडेलसहित तत्कालीन नायब महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन कामु उपनिर्देशक पवनकुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत नवौं डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय ध्रुवबहादुर देवकोटा र महेशप्रसाद काफ्लेविरुद्ध बुधवार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

उद्योगका लागि भेरिएबल फ्रिक्वेन्सी ड्राइभ खरिद गर्दा आवश्यकता र औचित्य नभएको प्राविधिक दृष्टिले रितपूर्वक माग नभएको अवस्थामा खरिद ऐनविपरीत खरिद गरी भुक्तानीसमेत गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको हो ।

अख्तियारका प्रवक्ता नुरहरि घिमिरेका अनुसार सामान खरिदपश्चात गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरी निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थनसमेत नगराएको पाइएको हो ।

 

 

खरिद गरिएको सामग्रीमध्ये १६० किलोवाट प्यानल  उदयपुर सिमेन्ट उद्योगले प्राप्त गरेको ५ वर्षभन्दा बढी समयसम्म पनि परीक्षण नगरिएको, आवश्यकताको पहिचान र औचित्यसमेत यकिन नगरी लागत अनुमान पनि नबनाई आवश्यक पर्नेभन्दा अस्वाभाविक रूपमा बढी सामान खरिद गरी गराई हालसम्म परीक्षण नगरिएको पाइएको हो ।

खरिद गरिएको उक्त सामान हालसम्म प्रयोगमा नरहेको तथा २२ लाख ७८ हजार ३ सय ५ रुपैयाँ भुक्तानी समेत दिइएको हुनाले उनीहरूविरुद्ध सोही मूल्य बमोजिम बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस