चितवनको राप्तीमा चेपाङ बालबालिका लक्षित ३ आवासीय विद्यालय सञ्चालन

सफल खबर संवाददाता

मंगलबार, ०९ माघ २०८०, १६ : ०४
चितवनको राप्तीमा चेपाङ बालबालिका लक्षित ३ आवासीय विद्यालय सञ्चालन

चितवन। चितवनको राप्ती नगरपालिकाले घर टाढा भएका विपन्न चेपाङ बालबालिकालाई लक्षित गर्दै तीन वटा आवासीय विद्यालय सञ्चालनमा ल्याएको छ । यसबाट ग्रामीण क्षेत्रका बालबालिका लाभान्वित भएका छन् ।

राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार चालू शैक्षिक सत्रबाट दुई वटा विद्यालयमा आवासीय व्यवस्थापनको शुरूवात गरिएको हो ।

 

एउटा विद्यालयमा नगरपालिकाले यस अघिनै आवासीय कक्षा सञ्चालन गरेको थियो । उनका अनुसार राप्तीको विकट गाउँ कान्दामा रहेको कान्देश्वरी आधारभूत विद्यालयमा यसै शैक्षिक सत्रबाट नगरपालिकाले आवासीय कक्षा सञ्चालन गरेको हो ।

यसअघि मितेरी फाउण्डेशन र लक्ष्मी प्रतिष्ठानले आवासीय विद्यालय सञ्चालन गर्दै आएकोमा यस वर्षबाट नगरपालिकाले सहयोग गर्न थालेको हो । त्यहाँ एक सय ५० जना चेपाङ बालबालिका अध्ययनरत छन् । फाउण्डेशन र प्रतिष्ठानले भौतिक संरचना यस अघिनै बनाएको थियो ।

त्यहाँ कार्यरत दुई जना शिक्षक/कर्मचारीको खर्च व्यवस्थापन तीनै संस्थाले गर्दै आएका छन् भने अन्य व्यवस्थापनमा नगरपालिकाले सहयोग गरेको छ । यो राप्ती नगरपालिका–१३ मा पर्दछ । जिल्लाको सबैभन्दा विकट ठाउँको रुपमा यो चिनिन्छ । राप्ती नगरपालिका–१२ एउराली टारस्थित गणेश माविमा आवासीय कक्षा सञ्चालन गरिएको छ । त्यहाँ १०४ जना बालबालिका आवासीय रुपमा बस्दै आएका छन् । 

न्यून सङ्ख्यामा तामाङ बालबालिका समेत भए पनि अधिकांश चेपाङ छन् । यस्तै सोही नगरपालिका–१ महादेश टारमा रहेको विद्यालयमा आवासीय कक्षा सञ्चालन गरिएको छ । त्यहाँ परेवाकोटको माथिल्लो भूभागका चेपाङ र तामाङ समुदायका बालबालिकाले आवासीय रुपमा अध्ययन गर्दै आएका छन् ।

यो विद्यालयमा आवासीय कार्यक्रम यसै शैक्षिक सत्रबाट शुरू गरिएको हो । हाल यहाँ ३८ जना बालबालिका अध्ययनरत छन् । विद्यालयभन्दा टाढा घर भएका बालबालिकालाई आवासमा राखेर पढाइएको हो । आर्थिक अभावका कारण विद्यालय जान समस्या भएका अति विपन्न परिवारलाई लक्षित गरी यो कार्यक्रम सञ्चालनमा ल्याइएको नगरप्रमुख लामाले जानकारी दिए ।

नगरपालिका–१०, ११, १२ र १३ पहाडी भूभागमा पर्दछ । वडा नं १ महादेवटारमा पहाडका बालबालिका ल्याएर आवासीय रुपमा पढाइएको हो । यो कार्यक्रम शुरू गरिएसँगै बीचमा विद्यालय छोड्ने क्रम घट्ने लामाको विश्वास छ ।

पहाडी भूभागमा अधिकांश चेपाङ समुदाय बसोबास गर्दछन् । आर्थिक अभावका कारण बिचैमा कक्षा छोड्दा उनीहरूको शैक्षिक अवस्था कमजोर छ ।