गर्मीले कक्षा कोठामै विद्यार्थी ढल्न थालेपछि बर्दिबासका विद्यालय बन्द

सफल खबर संवाददाता

विहीबार, २१ जेठ २०८३, ११ : ०७
गर्मीले कक्षा कोठामै विद्यार्थी ढल्न थालेपछि बर्दिबासका विद्यालय बन्द

महोत्तरी । गर्मी अत्यधिक बढेपछि महोत्तरीको बर्दिबास नगर कार्यपालिका क्षेत्रका विद्यालय बन्द भएका छन्। बर्दिबास नगर कार्यालयले नगर क्षेत्रका सबै विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको हो।

अत्यधिक बढेको गर्मीले बालबालिकाको स्वास्थ्यमा जोखिम बढ्नसक्ने भएकाले बिहीबार (२१ जेठ) र शुक्रबार २२ (जेठ) दुई दिन नगरक्षेत्रका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको नगरका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले जानकारी दिए।

बर्दिबास जिल्लामा सबैभन्दा बढी विद्यालय रहेको स्थानीय तह हो। यहाँ ५५ सामुदायिक र अन्य संस्थागत र धार्मिक गरी विद्यालयको सङ्ख्या ८० भन्दा धेरै छ।

जिल्लामा गत शनिबारयता धेरै गर्मी बढेको छ। शनिबारयता निरन्तर मध्यान्हतिर ३८ डिग्री सेल्सियसको सेरोफेरोमा तापक्रम रहँदै आएको छ। गत आइतबार नै जिल्लाकै गौशाला–१२ कान्तिबजारस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा कोठामै १० जना छात्रा बेहोस भएर ढलेका थिए। उपचारपछि सबै छात्रा अब ठिक भइसकेका छन्।

दिनदिनै दिनभरि घामको प्रचण्ड राप र तातो हावा बहने क्रम बढेको छ । यसले जनजीवन निकै प्रभावित भएको छ । त्यस्तै एक/दुई दिनभित्र मौसममा सुधार नभए विद्यालय बन्द गर्नेबारे छलफल गरिने मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो । जिल्लामा  १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतह छन्।

गर्मी छल्न बर्दिबासले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेपनि अन्य स्थानीयतहले भने अहिलेसम्म यस्तो सूचना गरेका जानकारी नभएको शिक्षा विकास समन्वय इकाई महोत्तरी कार्यालयका प्रमुख निर्मल घिमिरेले बताए।

गर्मीले गर्दा हाटबजार र कार्यालयहरूमा पनि चहलपहल निकै घटेको छ। प्रचण्ड गर्मीका कारण महोत्तरीका हाटबजारमा सर्वसाधारणको आवागमन निकै घटेको छ। अत्यधिक गर्मीले विद्यालय पढ्न जाने ससाना नानीहरू, वृद्धवृद्धा, गर्भवती महिला, सुत्केरी महिला र कडा शारीरिक श्रम गर्ने मजदुर बढी समस्यामा परेका छन्।