भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा होइन, अनिवार्य दायित्व हो : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

मंगलबार, ०२ माघ २०८०, १४ : ०७
भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा होइन, अनिवार्य दायित्व हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर अनिवार्य दायित्व भएको बताएका छन् ।२६ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पटक–पटकका त्रासदीपूर्ण भूकम्पबाट पाठ लिएर भविष्यमा फेरि पीडा भोग्न नपर्नेगरी काम गर्नुपर्ने बताए ।

‘विस. १९९० सालमा गएको महाभूकम्पको स्मरण गर्दै २०५५ सालदेखि हामी भूकम्प सुरक्षा दिवसका रुपमा यस्तो जागरण तथा संकल्पको कार्यक्रम हरेक वर्ष गर्दै आएका छौं। आजको दिन मूलभूत रुपमा त्यो पीडा फेरि भोग्न नपरोस् भनेर काम गर्न राष्ट्रिय संकल्प गर्ने दिन पनि हो’, उनले भने ।

भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्ने कुरा इच्छा नभएर दायित्व भएको उनले बताए ।‘आगामी दिनमा भूकम्पबाट कसैले ज्यान गुमाउन नपरोस्, घाइते हुन नपरोस्, कुनै पनि परिवारले कुनै खालको भौतिक क्षति भोग्न नपरोस् भन्नका लागि सबैले मिलेर काम गर्न सकौं भन्ने दिन पनि हो’, प्रधानमन्त्रीले भने, ‘आउनुस्, त्यसका लागि हामी सबैले संकल्प गरौं । भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्ने कुरा इच्छा होइन दायित्व हो भन्ने यथार्थ आत्मसात गरौं।’

२०७२ वैशाख १२ को भूकम्पले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिको हाम्रो पुस्ता साक्षी भएको बताउँदै प्रधानमन्त्रीले विगतबाट गम्भीर शिक्षा लिनुपर्नेमा जोड दिए ।

 

 

प्रतिक्रिया दिनुहोस