त्रिशूलीमा खसेको गाडी फेला पर्‍याे, यात्रु खोज्दै गोताखोर टोली

सफल खबर संवाददाता

मंगलबार, ०२ माघ २०८०, १० : ०४
त्रिशूलीमा खसेको गाडी फेला पर्‍याे, यात्रु खोज्दै गोताखोर टोली

काठमाडौ । आज बिहान त्रिशूली नदीमा खसको गाडी फेला परेको छ। इन्डियन नम्बर प्लेटको बोलेरो गाडी गोताखोरको टोलीले फेला पारेको हो। गाडीको नम्बर खुली सकेको छैन। 

नदीभित्र डुबेको अवस्थामा गाडी फेला परे पनि यात्रुलाई भने फेला पार्न नसकिएको प्रहरीले जनाएको छ। गाडीसँगै यात्रु पनि नदीमा डुबेको आशंका छ। तर, त्यसमा कति यात्रु सवार थिए खुलेको छैन। 

चितवनको मुग्लिन नजिकबाट कुनै सवारी साधन त्रिशूली नदीमा खसेको आशंकामा प्रहरीले आज बिहानैबाट खोजी सुरु गरेको थियो।

सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम शिक्षालय  कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोरसहितको टोली टोली परिचालन गरिएको छ। स्थानीयले जीप नदीमा खसेको खबर गरेपछि उक्त टोली घट्नास्थलमा खटाइएको हो। 

नारायणगढ-मुग्लिन सडकखण्डमा पर्ने चितवनको इच्छाकामना-५ स्थित तीन नम्बर पुल नजिकबाट मंगलबार बिहान सवारी साधन त्रिशूली नदीमा खसेको सूचना पाएपछि गोताखोरसहितको टोलीले खोजी सुरु गरेको थियो।

सुरुमा एक जना बस चालकले त्रिशूली नदीको बीचमा गाडीको बत्ती बलेको भनेर मुग्लिन प्रहरीलाई जानकारी दिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल आर्मीको जनशक्ति खोजी कार्यमा जुटेको थियो।

प्रतिक्रिया दिनुहोस