सुरु भयो सरस्वतीको रजत जयन्ती

विहीबार, २१ भदौ २०७५, १३ : ५६
सुरु भयो सरस्वतीको रजत जयन्ती

गैँडाकोट । सरस्वती निकेतन आवासीय माध्यामिक विद्यालयले भदौदेखि फागुनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाउने भएको छ । गैँडाकोट नगरपालिका वडा नम्बर एकमा रहेको विद्यालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी रजत महोत्सवका कार्यक्रमबारे जानकारी दिएको हो ।
विद्यालयका प्राचार्य तथा संस्थापक भरतबाबु कँडेलले शुक्रबार नै विशेष कार्यक्रम आयोजना गरी दश लाख ५० हजारको अक्षय कोष स्थापना गरी अति विपन्न दलित सीमान्तकृत समुदायका बालबालिकाहरु एवं मेधावी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताउनु भयो । प्राचार्यका छोरा निकेशबाबु कँडेलको शुभ संकल्पमा स्व. फत्तेबहादुर कँडेलको स्मृतिमा स्थापित छात्रवृत्ति अक्षयकोषले सामुदायिक विद्यालयका विद्यार्थी लाभान्वित हुने बताइएको छ ।
शुक्रबार मिलनचोक गैँडाकोट १ को वडा कार्यालय परिसरमा हुने कार्यक्रमबाट यसपटक गैँडाकोट १ को नेपाल राष्ट्रिय शमशेर माध्यमिक विद्यालय र नवदुर्गा निम्न माध्यमिक विद्यालयका गरी १२ जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिने प्राचार्य कँडेलले बताउनु भयो । विद्यालयका सञ्चालक अध्यक्ष गणेश सापकोटाले शैक्षिक क्षेत्रको गुणस्तर विकासका लागि छात्रवृत्ति, मण्टेश्वरी तालिम, शैक्षिक विकासका लागि सहयोग, समन्वयकारी भूमिका सम्पूर्ण कार्य गर्ने योजनाका साथ अघि बढेको बताउनु भयो ।
रजत जयन्ती प्रचार प्रसार उपसमितिका संयोजक कमल तिवारीका अनुसार रजत जयन्तीका कार्यक्रम सुरु भएको जानकारी दिँदै फागुन ७ गते समापन समारोह भव्यरुपमा आयोजना गरिने बताउनु भयो । विद्यालयका शिक्षक लक्ष्मण कँडेलले सहजीकरण गर्नु भएको पत्रकार सम्मेलन विद्यालय संचालक समिति अध्यक्ष गणेश सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस