चारवटा संसदीय समितिको बैठक बस्दै, यी छन् एजेन्डा

सफल खबर संवाददाता

विहीबार, २६ पुस २०८०, ०८ : ४८
चारवटा संसदीय समितिको बैठक बस्दै, यी छन् एजेन्डा

काठमाडौं । चारवटा संसदीय समितिको बैठक आज बस्दै छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने भएको हो । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पाठ्यक्रम विकास केन्द्र र राष्ट्रिय परिक्षा बोर्डसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल हुनेछ । बैठक बिहान साढे ११ बजे बस्नेछ । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ । बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । 

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छनबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ८ बजे बस्दै छ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 

बैठकमा श्रमिकको हित विपरीत हुनेगरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेका निर्णयका सन्दर्भमा विभागीय मन्त्री शरतसिंह भण्डारीसँग नीतिगत छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस