त्रिविमा प्राध्यापकबाटै प्रश्नपत्र आउट भएपछि...

पत्रपत्रिकाबाट

बुधबार, २० भदौ २०७५, ०८ : ३८
त्रिविमा  प्राध्यापकबाटै प्रश्नपत्र आउट  भएपछि...

त्रिविमा आइतबार र मंगलबार लगातार स्नातकोत्तर तहको प्रश्नपत्र आउट, परीक्षा स्थगित

-मंगलबार बिहान ११ बजे हुने भनिएको एमएड प्रथम सेमेस्टर साइकोलोजी विषयको प्रश्नपत्र बिहानैदेखि बजारमा, प्रश्नपत्र लिक भएको प्रमाणित भएपछि त्रिविद्वारा परीक्षा स्थगित

-आइतबार भएको फाउन्डेसन अफ एजुकेसनको परीक्षामा पनि त्यही प्रश्नपत्र आयो, जुन प्राध्यापक होमनाथ भट्टराईले आफ्नो किताबमा नमुना प्रश्नपत्र भनेर छापेका थिए

त्रिभुवन विश्वविद्यालय एमएड फस्र्ट सेमेस्टका विद्यार्थी मंगलबार बिहान ११ बजे हुने भनिएको साइकोलोजी विषयको परीक्षाका लागि अन्तिम तयारी गरेर परीक्षा केन्द्रतर्फ जाँदै थिए । तर, देशभरका ३८ परीक्षा केन्द्रमा परीक्षार्थी पुग्दानपुग्दै प्रश्नपत्र सामाजिक सञ्जालमा छरपस्ट भइसकेको थियो । त्रिभुवन विश्वविद्यालयले तत्कालै छानबिन ग-यो । परीक्षाका लागि तय भएको प्रश्नपत्र नै सामाजिक सञ्जालमा पुगेको पुष्टि भएपछि परीक्षा स्थगित भयो ।

त्रिवि, शिक्षाशास्त्र संकाय, साइकोलोजी विषय समितिका अध्यक्ष प्रा. होमनाथ भट्टराईले प्रश्नपत्र तयार पारेका हुन् । आफूबाटै प्रश्नपत्र आउट भएको उनले स्विकारेका छन् । ‘प्रश्नपत्र मेरो पेनड्राइभमा थियो, त्यसमा बिएड, एमएडका कोर्सका फाइल पनि थिए, कोर्स दिँदा प्रश्नपत्र गएजस्तो लाग्छ,’ उनले नयाँ पत्रिकासित भने ।

तर, आइतबार भएको फाउन्डेसन अफ एजुकेसनको परीक्षामा पनि प्रा. भट्टराईकै गम्भीर दोष देखिएको छ । फाउन्डेसन अफ एजुकेसनको परीक्षामा पनि त्यही प्रश्नपत्र आयो, जुन प्राध्यापक होमनाथ भट्टराईले आफ्नो किताबमा नमुना प्रश्नपत्र भनेर छापेका थिए ।

आइतबारको परीक्षा रद्द गर्ने विषयमा परीक्षा समितिमा छलफल भए पनि कुनै निर्णय भएको छैन । विषयगत समितिकै अध्यक्षले लेखेको किताबमा नमुना प्रश्नपत्र राख्ने र त्यही प्रश्नपत्र हुबहु परीक्षामा वितरण गर्ने प्रवृत्तिले त्रिभुवन विश्वविद्यालयको साखमा चुनौती दिएको छ ।

विश्वविद्यालयको नियमअनुसार अनियमित गर्ने प्राध्यापकलाई दुई वर्षसम्म उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणलगायतका परीक्षाका सबै काम गर्नबाट वञ्चित गर्ने सक्ने व्यवस्था छ । विभागको जिम्मेवारी पाएका व्यक्तिलाई पदबाट मुक्तसम्म गर्ने सक्ने व्यवस्था छ ।

प्राध्यापक भट्टराई भन्छन्–गल्ती भयो, जिम्मा लिन्छु
प्रा. होमनाथ भट्टराई

प्रश्न बाहिरिएको थाहा पाएँ । मेरो पेनड्राइभबाट बाहिरिएको हो जस्तो लाग्छ । बाहिरिएको थाहा पाएपछि परीक्षामा गएर जानकारी भयो । मेरो पेनड्राइभमा धेरै फाइल थिए । त्यसमा बिएड, एमएडलगायत सबैका कोर्स त्यही पेनड्राइभमा थिए । कोर्स दिँदा प्रश्नपत्र पनि गएछ । म जिम्मेवार भएकाले मैले जिम्मेवारी लिनुप-यो । १७ गतेको परीक्षाको प्रश्नपत्र पनि यस्तै भएको होला । त्यो पनि ‘ब्लन्डर’ भयो । त्यो पनि पुनः परीक्षा गर्नुप-यो । मैले सबै सूचना परीक्षालाई दिएको छु ।

डिन गौतम भन्छन्–दोषीलाई कारबाही हुन्छ
कृष्ण गौतम, डिन

शिक्षाशास्त्र संकायका डिन प्रा.डा. कृष्णप्रसाद गौतमले दोषी पत्ता लगाइसकेको र कानुनअनुसार कारबाही गर्ने बताए । उनले प्रश्नपत्र बनाउने, मोडरेसन गर्ने एउटै व्यक्ति भएको र उनैबाट बाहिरिएको पत्ता लागेको बताए । परीक्षा समितिको बैठक बसी दोषीलाई कारबाही हुने उनी बताउँछन् । त्रिविका अधिकारीले परीक्षाको सिस्टममा कुनै समस्या नरहेको, तर जिम्मेवार प्राध्यापक नै गैरजिम्मेवार भएका कारण समस्या आएको बताएका छन् । प्राध्यापकको लापरबाहीका कारण हजारौँ विद्यार्थी तनावमा छन् । सो विषयमा ३८ केन्द्रमध्ये दुईवटा काठमाडौं र अन्य ३६ केन्द्र उपत्यकाबाहिर रहेका छन् ।

त्रिविका प्रश्नपत्र पटकपटक आउट
बिबिएस पहिलो वर्षको प्रश्नपत्र गत भदौमा परीक्षाअगावै आउट भएको थियो । विश्वविद्यालयकै जिम्मेवार पदाधिकारीसँग मिलेको गिरोहले बिबिएसको प्रश्नपत्र बजारमा बेचेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंले गिरोहका १४ जना पक्राउ गरेबाटै बुझ्न सकिन्छ– कति ठूलो समूह यसमा सक्रिय थियो । यो समूहले राजधानीका विभिन्न क्याम्पसमा प्रश्नपत्र बेचेको थियो ।

एमबिबिएसको प्रवेश परीक्षाको प्रश्नपत्रसमेत आउट भएका उदाहरण छन् । ०७१ मा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले गराएको प्रवेश परीक्षाको प्रश्नपत्र पनि लाखौँ रुपैयाँमा किनबेच भएको थियो । प्रश्नपत्र बेचेको आरोपमा गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डेसहित ६ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ । अदालतले निर्देशक पाण्डेलाई नौ महिना कैद र पाँच लाख जरिवाना सुनाएको थियो ।

भदौ ०६९ मा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले सञ्चालन गरेको स्नातक तहको प्रवेश परीक्षामा पनि प्रश्नपत्र बाहिरिएको थियो । त्रिविको आफ्नै प्रेस छ । साथै, जनक शिक्षा सामग्री केन्द्रमा सेक्युरिटी प्रेस पनि छ । तर, इन्जिनियरिङको प्रवेश परीक्षाको प्रश्नपत्र छाप्न ललितपुरको सानेपास्थित सिग्मा प्रेसलाई दिइएको थियो । त्यहीँबाट प्रश्नपत्र बाहिरिएको थियो । कतिपयले फोटोकपी गरेर र कतिपयले अडियो रेकर्ड गराएर प्रश्नपत्र किनबेच गरेका थिए ।

यसअघि अंग्रेजी केन्द्रीय विभागका प्राध्यापकबाटै प्रश्नपत्र बाहिरिएको थियो । त्रिविका अंग्रेजी केन्द्रीय विभागका प्राध्यापक शरद ठाकुरको गैरजिम्मेवारीपनका कारण प्रश्नपत्र बाहिरिएको थियो । उनलाई सामान्य कारबाही मात्र गरिएको थियो । त्यसपछि उनले मानविकी तथा सामाजिकशास्त्र संकायका सहायक डिन भई लामो समय परीक्षाकै काम गरे । त्यसैगरी ०७१ मा पनि पद्मकन्या केन्द्रबाट व्यवस्थापन विषयको प्रश्नपत्र बाहिरिएको थियो ।

पूर्वाञ्चल विश्वविद्यालयमा पनि प्रश्नपत्र आउट हुँदै आएका छन् । गत मंसिरमा पूर्वाञ्चल विश्वविद्यालयले सञ्चालन गरेको एग्रो मेट्रोलोजी एन्ड क्लाइमेट चेन्ज विषयको परीक्षाको प्रश्नपत्र निजी कलेजलाई पहिले नै बेचिएको थियो । विश्वविद्यालयका पदाधिकारीको यो बदमासीविरुद्ध आक्रोशित मोरङस्थित जिपी कोइराला कलेज अफ एग्रिकल्चरका विद्यार्थीले प्रशासनिक भवन तोडफोड गरेका थिए । उनीहरूले डिनको कुर्सीसमेत आगो लगाइदिएका थिए । प्रश्नपत्र आउट भएको थाहा पाउँदापाउँदै पनि विश्वविद्यालयले छानबिन समितिसमेत नबनाएकोमा विद्यार्थी आन्दोलित भएका थिए । यो खबर आजको नयाँ पत्रिकामा छ ।

 

प्रतिक्रिया दिनुहोस