भारत र दक्षिण अफ्रिकाबिचको दोस्रो टेस्टको पहिलो दिन बनेका रोचक कीर्तिमान

सफल खबर संवाददाता

विहीबार, १९ पुस २०८०, ११ : ३८
भारत र दक्षिण अफ्रिकाबिचको दोस्रो टेस्टको पहिलो दिन बनेका रोचक कीर्तिमान

काठमाडौँ । भारत र दक्षिण अफ्रिकाबिचको दोस्रो टेस्टको पहिलो दिन केही रमाइला घटना भए । केप टाउनमा खेलिएको उक्त टेस्टको पहिलो दिन नै दुबै टोलीको गरी कुल २३ वटा विकेट खस्यो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको घरेलु टोली दक्षिण अफ्रिका पहिलो पालीमा ५५ रनमै अलआउट हुन पुग्यो । दक्षिण अफ्रिकी टोली पहिलो पालीमा २३.२ ओभरमात्र क्रिजमा टिक्न सक्यो ।

जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली भारत पनि आफ्नो पहिलो पालीमा ३४.५ ओभरमै अलआउट हुन पुग्यो । भारतले पहिलो पालीमा एक सय ५३ रनमात्र बनाउन सक्यो । भारतले अन्तिम ६ विकेट गुमाउँदा त एक रन पनि जोड्न सकेको थिएन । हालसम्म खेलिएको दुई हजार पाँच सय २२ टेस्टमा यसअघि कुनै पनि टोलीले एक रन पनि नजोडी ६ विकेट गुमाएको थिएन ।

त्यसपछि दोस्रो पाली खेल्न आएको दक्षिण अफ्रिकाले पहिलो दिन नै फेरि तीन विकेट गुमाइसकेको छ । पुरुष टेस्ट क्रिकेटमा पछिल्ला ७० वर्षयता यस्तो घटना पहिलोपटक भएको हो । भारत र दक्षिण अफ्रिकाबिचको दोस्रो टेस्टको पहिलो दिन भएका केही रोचक घटनाको विषयमा यहाँ उल्लेख गरिएको छ ।

— २३ : भारत र दक्षिण अफ्रिकाबिचको दोस्रो टेस्टको पहिलो दिन बुधबार केप टाउनमा दुबै टोलीको गरेर कुल २३ विकेट खस्यो । यसअघि सन् २०११ मा दक्षिण अफ्रिका र अस्ट्रेलियाबिच खेलिएको टेस्टको दोस्रो दिन २३ विकेट खसेको थियो । त्यो टेस्ट पनि दक्षिण अफ्रिकाको केप टाउनमै खेलिएको थियो ।   

 

— १ : टेस्ट क्रिकेटको इतिहासमा यसअघि पहिलो दिन नै २३ भन्दा बढी विकेट एकपटक मात्र खसेको छ । सन् १९०२ मा मेलबर्नमा अस्ट्रेलिया र इङ्ल्यान्डबिच टेस्ट क्रिकेट खेलिएको थियो । उक्त टेस्टको पहिलो दिन नै कुल २५ विकेट खसेको थियो ।

— १५३ : दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टको पहिलो दिन भारतले एक सय ५३ रनपछि लगातार ६ विकेट गुमाएको थियो । अर्थात, भारतले एक रन पनि नजोडी पछिल्ला ६ विकेट गुमाएको थियो । यसअघि टेस्ट क्रिकेटमा भारतले कहिल्यै पनि एउटै स्कोरमा लगातार ६ विकेट गुमाएको थिएन ।

 

— ११ : दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टको पहिलो दिन भारतले केवल ११ बलमा आफ्ना पछिल्ला ६ विकेट गुमाएको थियो । त्यसअघि टेस्ट क्रिकेटमा भारतले केवल ११ बलमा ६ विकेट गुमाएको थिएन । टेस्ट क्रिकेटमा अन्य टोलीले पनि यसअघि केवल ११ बलमा ६ विकेट गुमाएका थिएनन् । यसअघि टेस्ट क्रिकेटमा विभिन्न टोलीले २७ बलमा ६ विकेट गुमाएको इतिहास भने पाइन्छ ।

— ३४९ : भारत र दक्षिण अफ्रिकाबिचको दोस्रो टेस्टको पहिलो दिन दुबै टोलीले आफ्नो पहिलो पाली खेलिसक्दा कुल तीन सय ४९ बलको सामना गरेका थिए । टेस्ट क्रिकेटको इतिहासमा यसअघि एकपटक मात्र योभन्दा कम बलमा दुबै टोली अलआउट भएका छन् । सन् १९०२ मा मेलबर्नमा खेलिएको अस्ट्रेलिया र इङ्ल्यान्डबिचको टेस्टमा दुबै टोली केवल दुई सय ८७ बलमा अलआउट भएका थिए ।

— ८ : टेस्ट क्रिकेटको इतिहासमा पहिलो दिन नै तेस्रो पाली खेलिएको यो आठौँ पटक हो । तर, केप टाउनमा भने पहिलो दिन नै तेस्रो पाली खेलिएको यो पहिलो पटक हो । टेस्ट क्रिकेटमा पछिल्लो ७० वर्षयता यस्तो घटना दोस्रोपटक भएको हो । यसअघि सन् २०१९ मा लर्डसमा खेलिएको इङ्ल्यान्ड र आयरल्यान्डबिचको टेस्टमा यस्तो भएको थियो ।

— ९.४ : दक्षिण अफ्रिका र भारतबिचको दोस्रो टेस्टको पहिलो दिन भारतले केवल ९.४ ओभरमै दक्षिण अफ्रिकासँग अग्रता हासिल गरेको थियो । पुरुष टेस्ट क्रिकेटको इतिहासमा यसअघि ९.४ ओभरमै कुनै पनि टोलीले अग्रता लिएको थिएन ।

— २ : भारत र दक्षिण अफ्रिकाबिचको दोस्रो टेस्टको पहिलो दिन दुईजना ब्याट्सम्यान दुई–दुई पटक आउट भएका थिए । ती दुबै दक्षिण अफ्रिकी ब्याट्सम्यान आफ्नो ‘डेब्यू’ टेस्ट खेलिरहेका थिए । दक्षिण अफ्रिकाका ट्रिस्टिन स्टब्स पनि बुधबार दुईपटक आउट भए । यसअघि सन् १८९६ मा खेलिएको दक्षिण अफ्रिकाविरुद्धकै टेस्टमा इङ्ल्यान्डका विकेटकिपर ह्यारी बट दुईपटक आउट भएका थिए । उनले पनि त्यतिबेला आफ्नो ‘डेब्यू’ टेस्ट खेलिरहेका थिए ।

— ६ : दक्षिण अफ्रिका र भारतबिचको दोस्रो टेस्टको पहिलो दिन बुधबार केट टाउनमा भारतका ६ ब्याट्सम्यान ‘डक आउट’ भएका थिए । यसअघि एकपटक मात्र टेस्ट क्रिकेटमा भारतका ६ जना ब्याट्सम्यान ‘डक आउट’ भएका थिए । सन् २०१४ मा म्यानचेस्टरमा खेलिएको इङ्ल्यान्डविरुद्धको टेस्टमा भारतका ६ ब्याट्सम्यान ‘डक आउट’ भएका थिए ।