जनतामा आशा जगाउन काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : डा. शेखर कोइराला

सफल खबर संवाददाता

सोमबार, १६ पुस २०८०, १९ : ३६
जनतामा आशा जगाउन काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : डा. शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले महासमितिको बैठकबाट १५ औँ महाधिवेशनको मिति तोकिनुपर्ने बताएका छन् । काँग्रेस यसरी अगाडि बढ्न नसक्ने बताउँदै कोइरालाले बलियो काँग्रेस बनाउन र पार्टीलाई पुरानै अवस्थामा पुर्‍याउन समयमै १५ औँ महाधिवेशन गरिनुपर्ने बताए ।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा प्रजातन्त्र सेनानी संघले काठमाडौँमा आयोजना गरेको वाग्मती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै कोइरालाले प्रधानमन्त्रीको रिपोर्ट कार्ड जनताले हेर्न चाहेको बताएका छन् । ‘अहिले प्रधानमन्त्रीले मन्त्रीहरूको रिपोर्ट कार्ड मागिरहनुभएको छ । तर म प्रधानमन्त्रीकै रिपोर्ट कार्ड मागिरहेको छु’ कोइरालाले भने ।

ललिता निवास, भुटानी शरणार्थी सुन तस्करी काण्ड कहाँ पुगे भनेर नेता कोइरालाले प्रश्न गरे । ‘प्रधानमन्त्रीले यो कार्यकालमा के के गर्नुभयो ? भुटानी शरणार्थी काण्ड कहाँ पुग्यो ? ललिता निवासको मुद्दा कहाँ पुग्यो ? सुन काण्ड कहाँ पुग्यो ?,’ कोइरालाको प्रश्न छ ।

कोइरालाले सुशासन कायम गरेर समृद्धिको बाटोमा लैजान, भ्रष्टाचार निर्मूल गर्न, रोजगारीको अवसर सिर्जना गर्न र जनतामा आशा जगाउन काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस