चौरासी पूजाको खर्च कटाएर विद्यालयलाई चार लाख सहयोग

सफल खबर संवाददाता

बुधबार, ११ पुस २०८०, १३ : ३६
चौरासी पूजाको खर्च कटाएर विद्यालयलाई चार लाख सहयोग

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटका एक वृद्धा र उनका परिवारले ८४ पूजामा हुने खर्च कटाएर विद्यालयलाई चार लाख रुपैयाँ सहयोग गरेका छन् । च्युरीबोट घर भई हाल बेलायत बसोबास गर्ने घनमाया पुन र उनका छोराहरूले मङ्गलबार ८४ वर्ष पुगेको अवसरमा सिद्धार्थ माविलाई रकम हस्तान्तरण गरेका हुन् । 

घनमायाले आफ्नो नामबाट एक लाख, दिवङ्गत श्रीमान् टेकबहादुर पुनको नाममा एक लाख र स्व छोरी चित्रा घर्तीको स्मृतिमा पचास हजार नगद हस्तान्तरण गरेको प्रअ ललितबहादुर घर्तीमगरले बताए ।

 

घनमायाका छोरा टार्जन र दुर्गा एवं छोरी रुपी पुनले थप पचास/पचास हजार नगद उपलब्ध गराए । घनमाया, उनका छोराछोरी र बुहारीले वडाध्यक्ष भेजेन्द्रमान पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुन, घर्ती, अक्षयकोषका अध्यक्ष भिजेन्द्रमान पुनलाई नगद हस्तान्तरण गरेका थिए ।

घनमायाका जेठा छोरा/बुहारी दलमान र माया पुनले गत वर्ष पचास हजार सहयोग गरेका थिए । उनका भान्जा खिमबहादुर बुढाले विद्यालयलाई दश हजार सहयोग गरेका थिए । सो रकम विद्यालयमा सिद्धार्थ अक्षयकोषमा जम्मा गरिने प्रअ घर्तीले बताए ।

८४ वर्ष पूरा भएको अवसरमा घनमायाले विद्यालयलाई सहयोग गरेर फजुल खर्च नियन्त्रण र सामाजिक क्षेत्रमा सकारात्मक सन्देश दिएको वडाअध्यक्ष पुनले बताए । सहयोगदाता पुनले विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीयलाई ८४ वर्ष पुगेको अवसरमा भोजनसमेत गराएका थिए । 

विद्यालय, च्युरीबोट ख्याली सोरठी, स्थानीय आमा समुह, क्लबलगायत सङ्घसंस्थाहरूले घनमाया र उनका परिवारलाई सम्मान गरेका थिए । विसं २०५५ मा स्थापित अक्षयकोषको रकमबाट विद्यालयमा अध्यापनरत निजी स्रोतका शिक्षकहरूलाई तलब र गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरणका लागि खर्च गरिँदै आएको शिक्षक छकप्रसाद घर्तिमगरले बताए । कक्षा १० सम्म पढाइ हुने विद्यालयमा एक सय २७ विद्यार्थी छन् । 

अक्षयकोषमा देशविदेशमा रहेका च्युरीबोटबासीबाट अहिलेसम्म २४ लाख १४ हजार छ सय ४३ सङ्कलन भएको छ । सोही अवसरमा गत वर्षको एसईई परीक्षामा विद्यालयबाट सहभागी भई सो गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी बोमबहादुर रोकालाई विद्यालयले नगदसहित पुरस्कृत गरेको छ ।