प्रिमियर लिगमा आर्सनल र लिभरपुलले बराबरी खेले

एजेन्सी

आइतबार, ०८ पुस २०८०, ०८ : ४३
प्रिमियर लिगमा आर्सनल र लिभरपुलले बराबरी खेले

एजेन्सी ।  इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुलले बराबरी खेलेका छन् । शनिबार राति सम्पन्न खेलमा दुवै टीमले एक–एक गोलको बराबरी खेल्दै एक एक अंक बाँडेका हुन् । 

बराबरीले आर्सनल र लिभरपुल दुवैलाई फाइदा पुगेको छ । आर्सनल शीर्ष स्थानमा उक्लिएको छ भने लिभरपुल दोस्रो स्थानमा पुगेको छ । एक दिन अघि शीर्ष स्थानमा उक्लिएको एस्टन भिल्ला भने तेस्रो स्थानमा पुगेको छ । 

आर्सनलको ४० अंक रहँदा लिभरपुल र एस्टन भिल्लाको भने ३९ अंक छ । शनिबार रातिको खेलमा सुरुआती अग्रता भने आर्सनलले लिएको थियो । चौथो मिनेटमै ग्रेब्रियल माहाल्हेसले गोल गर्दै अग्रता दिलाएका थिए ।

उनले मार्टिन ओडेगार्डको पासमा गोल गरेपछि लिभरपुल घरेलु मैदान एनफिल्डमा सुरुमै पछि परेको थियो । तर, २९ औं मिनेटमा लिभरपुलले बराबरी गरेको थियो । मोहमद सलाहले एलेक्जेन्डर आर्नोल्डको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
 

प्रतिक्रिया दिनुहोस