काँग्रेसबाट देशको सङ्कट टार्ने अपेक्षा गर्न सकिँदैन, माओवादी एक्लैले सक्दैन : नेकपा एस

सफल खबर संवाददाता

विहीबार, ०५ पुस २०८०, २० : ३५
काँग्रेसबाट देशको सङ्कट टार्ने अपेक्षा गर्न सकिँदैन, माओवादी एक्लैले सक्दैन : नेकपा एस

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मुलुकमा भूराजनीतिक दबाब बढ्दै गएको निष्कर्ष निकालेको छ । अध्यक्ष माधव नेपालले अपानी जारी गर्दै लोकतान्त्रिक स्थिरताका साथ मुलुक समृद्धि र समाजवादतर्फ अगाडि बढ्ने विश्वासिलो आधार अहिलेसम्म पनि पुनर्स्थापित हुन नसकेको बताए ।

अपानिमा भनेका छन्, ‘बरु राष्ट्रिय राजनीतिले एकपछि अर्को झन्झन्बढि प्रतिकूलताको सामना गर्दैछ । आर्थिक क्षेत्रमा समस्या गहिरिँदै गएका छन्। भ्रष्टाचार र अनियमितताले सामाजिक मनोविज्ञान बिथोलिँदै गएको छ । यही मौकामा दक्षिणपन्थी-पुनरुत्थानवादी शक्तिहरूले संविधान, राष्ट्रिय एकता, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्यहरूमाथि औँला उठाउन थालेका छन् ।’

राजनीतिलाई विचारहीन-सिद्धान्तहीन सस्ता नाराको खेल बनाउने प्रवृत्ति बढ्दै गएको उल्लेख छ ।‘मुलुकमा भूराजनीतिक दबाब बढ्दै गएको छ र राष्ट्रिय हितका विरुद्ध अनेक षडयन्त्रहरू हुँदै गरेका आशङ्काहरू बढ्न थालेका छन्। आज मुलुकमा बढ्दै गरेको सङ्कटले राजनीतिमा एउटा प्रभावकारी क्रान्तिकारी हस्तक्षेपको माग गरेको छ । स्पष्ट समाजवादी कार्यदिशा भएको एउटा बलियो लोकतान्त्रिक पार्टीले मात्रै त्यस्तो हस्तक्षेप गर्न सक्छ र आजका सङ्कट समाधानको दिशा देखाउन सक्छ’, अपानिमा उल्लेख छ ।

नेपाली काङ्ग्रेस एउटा उदारवादी राजनीतिक शक्ति भएको हुँदा आजको सङ्कटलाई सामना गर्ने वैचारिक सामर्थ्य उसँग अपेक्षा गर्न नसकिने निष्कर्ष छ ।अपानिमा भनिएको छ, ‘अहिले उठेका कैयौँ प्रश्नमा पनि नेपाली काङ्ग्रेसले आफ्ना नीतिहरू स्पष्ट पारिसकेको छैन । नेकपा एमाले वामपन्थी जनमत भएको ठूलो पार्टी भए पनि संसद विघटनपछि त्यसको नेतृत्वमा झन् बढी वैचारिक, सैद्धान्तिक र साङ्गठनिक समस्याहरूमा जेलिँदै गएका छन् समग्र पार्टी दक्षिणपन्थी व्यक्तिपूजाको सिकार हुँदै गएको छ । कतिपय सैद्धान्तिक कारणले नेकपा माओवादी केन्द्रले अहिलेको राजनीतिमा हस्तक्षेप गर्ने गरी एक्लै पहलकदमी लिन सक्दैन । यस परिस्थितिमा वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले आजका सङ्कटको वस्तुगत विश्लेषण र समाधानको स्पष्ट बाटो लिएको राजनीतिक शक्ति हाम्रो पार्टी नेकपा एकीकृत समाजवादी नै हो ।’

गत असोज १४-२८ मा हाम्रो पार्टीले आयोजना गरेको ‘समाजवादी जागरण अभियान’ का दौरानमा अहिलेका समस्या र तिनको समाधानबारे सार्वजनिकरुपमा हामीले राखेका धारणाहरूमा देखिएको जनसमर्थनले पनि त्यसलाई पुष्टि गर्ने उल्लेख गरेका छन् ।

अपानिमा भनिएको छ, ’अहिलेको चुनौतीको सामना गर्न सक्ने गरी हाम्रो पार्टी सङ्गठनात्मकता बलियो भैसकेको छैन । विद्रोहबाट जन्मेको र त्यसपछि एकपछि अर्को निर्वाचनमा जानु पर्दा पार्टीलाई सङ्गठनात्मकता विस्तार गर्न आवश्यक समय हामीले पाएनौँ । यदि सही राजनीतिक कार्यदिशा भएन भने सङ्गठनात्मकरुपले शक्तिशाली पार्टी प्रतिगमनको झन्प्रभावशाली हतियार हुँदो रहेछ भन्ने कुरा हामी आफैँले भोगेर आएका छौँ ।’