हिउँदे अधिवेशन बोलाउनेबारे प्रधानमन्त्रीले संसद्‍मा रहेका दलहरुसँग छलफल गर्ने

सफल खबर संवाददाता

मंगलबार, ०३ पुस २०८०, ११ : ३९
हिउँदे अधिवेशन बोलाउनेबारे प्रधानमन्त्रीले संसद्‍मा रहेका दलहरुसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको हिउँदे अधिवेशन आह्वानका लागि संसदमा रहेका दलहरुसँग छलफल गर्ने भएका छन् । 
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले संसदको हिँउदे अधिवेशन आह्वानका लागि छिट्टै प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलसहित संसदका रहेका सबै दलसँग परामर्श गर्ने जानकारी दिए । 

 

‘संसदको अधिवेशन बोलाउनेबारे संसदमा भएका दलहरुसँग प्रधानमन्त्रीले छलफल गर्नुहुन्छ । प्रमुख प्रतिवक्षी दलको नेता अभियानमा हुनुहुन्थ्यो । अब अभियान सकिएकाले सबैसँग छलफल हुन्छ’, उनले भने, ‘दलहरुसँग छलफल गरेर अधिवेशन बोलाउनुहुन्छ ।’

संसद्को हिउँदे अधिवेशन जतिसक्दो चाँडो बोलाएर महत्त्वपूर्ण विधेयकहरु अघि बढाउनुपर्ने प्रधानमन्त्री प्रचण्डले धारणा राख्दै आएका छन् । 

 

यसबारे प्रधानमन्त्रीले सभामुखका साथै  सत्तारुढ तीन दलका शीर्ष नेताहरुसँग पनि छलफल गरिसकेका छन् ।  दुवै छलफलमा प्रधानमन्त्री प्रचण्डले जतिसक्दो छिटो संसद्को हिउँदे अधिवेशन बोलाएर महत्त्वपूर्ण विधेयकहरु अघि बढाउनुपर्नेमा जोड दिएको बताइएको छ । 

 

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड टीआरसी, संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन लगायतका विधेयक चाँडो संसदबाट अनुमोदन गराउन चाहन्छन् । संविधान अनुसार संघीयता कार्यान्वयनका लागि आवश्यक विधेयकहरु संघ सरकारले अघि नबढाएको भन्दै प्रदेश सरकारले समेत संघ सरकारमाथि लगातार दबाब दिइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस