हस्तकला व्यवसायको प्रवर्द्धनको लागि थप पहल आवश्यक : राष्ट्रपति पौडेल

सफल खबर संवाददाता

विहीबार, २८ मंसिर २०८०, १३ : १९
हस्तकला व्यवसायको प्रवर्द्धनको लागि थप पहल आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र भएकाले सरकारबाट यसको प्रवर्धनका लागि व्यवसायमैत्री कानुन बनाउन आवश्यक रहेको बताएका छन्। 

हस्तकला दिवसको अवसरमा आयोजित यस २० औँ हस्तकला व्यापार मेला तथा १८ औँ हस्तकला प्रतियोगिताको बिहीबार उद्घाटन गर्दै उनले हस्तकला उद्योगबाट उत्पादित वस्तुहरूको बजार विस्तार देशभित्र गर्न सरकारका सम्पूर्ण निकायबाट स्वदेशमा उत्पादित हस्तकला वस्तुको उपयोगको वातावरण सृजना गर्न आवश्यक रहेको औँल्याए ।  उनले भने–‘हस्तकला उद्योग नेपालको उद्योग व्यापार मात्र नभई नेपालको प्राचीन सभ्यता, मौलिक संस्कृति र सम्पदाको संरक्षण एवम् संवर्द्धन गर्दै विश्वमा परिचित गराउने महत्त्वपूर्ण क्षेत्र हो । यसका साथै हस्तकला उद्योग व्यवसायको उत्थानबाट नेपालको पहिचान एवं गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न  सकिन्छ । यस उद्योगको विकास र विस्तारबाट एकातिर मुलुकको विशिष्ट पहिचान स्थापित गर्न सकिन्छ भने अर्कोतिर हाम्रो आर्थिक, सामाजिकलगायत समग्र राष्ट्रिय विकासका लागि महत्त्वपूर्ण योगदान पुर्याउन सकिन्छ भन्ने मलाई लागेको छ ।’

राष्ट्रपति पौडेलले नेपाली हस्तकलाका धेरैजसो सामग्रीहरू हाम्रा विभिन्न जातजातिको पुर्ख्यौली पेसा र सीपमा आधारित मौलिक उत्पादन भएकाले सजिलै यसको नक्कल हुन नसक्ने भए पनि यस प्रकारका उत्पादनको प्रतिलिपि अधिकार पनि समयमा नै सुरक्षित गर्नेतर्फ ध्यान दिन जरुरी रहेको बताए। 

राष्ट्रपति पौडेलले विश्ववजार प्रतिस्पर्धी बन्दै गइरहेको बेलामा नेपाली हस्तकलाको समान निर्यात गर्दा क्रियाशील उत्पादन, बजारको माग, वस्तुको डिजाईन र विकास गुणस्तरीय वस्तु, मूल्य निर्धारण, राम्रो प्याकेजीङ्ग, व्यापारमेला र प्रदर्शनीमा सहभागी, प्रचार, प्रवर्धन, अनुसन्धान, विकास र प्रतिलिपि अधिकारमा विशेष ध्यान पु¥याउन आवश्यक रहेको बताए । उनले भने–‘यो मेलाले उद्यमी, कलाकार, कालीगढहरूबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरूको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन र नयाँ नयाँ निर्यात योग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्न मद्दत पुर्याउने मैले विश्वास लिएको छु ।’  सो क्रममा राष्ट्रपति पौडेलले प्रदर्शनीमा राखिएका विभिन्न स्टलहरूको अवलोकन गर्नुभएको थियो । राष्ट्रपति पौडेलले उत्कृष्ट हस्तकला निर्यातकर्तालाई सम्मान गरेका थिए । 

प्रतिक्रिया दिनुहोस