निरन्तर आइरहने कमिसनको लोभमा विद्यार्थी बेच्छन् कन्सल्टेन्सी

सफल खबर संवाददाता

शनिबार, १६ भदौ २०७५, १७ : १३
निरन्तर आइरहने कमिसनको लोभमा विद्यार्थी बेच्छन् कन्सल्टेन्सी

काठमाडौँ । विदेशका विश्वविद्यालयमा विद्यार्थी पठाइदिए वापत कन्सल्टेन्सीहरुले ती विद्यार्थीले कलेज नछाडेसम्म निरन्तर कमिसन पाइरहन्छन् । यही निरन्तर पाइने पेन्सनजस्तो कमिसनको लोभमा कन्सल्टेन्सीहरुले नेपाली विद्यार्थीलाई विभिन्न प्रलोभन देखाएर विदेश पठाउने गरेका छन् । कन्सल्टेन्सीको कमिसन खेती राम्रैसँग फस्टाएपछि नेका र नेकपाका नेताहरु एवं तिनका आफन्त पनि यो धन्दामा लागेका छन् ।

धादिङका एमाले नेता राजेन्द्र पाण्डेको नाममा मात्रै चार वटा कन्सल्टेन्सी दर्ता भएका छन् । पाण्डेका छोरा प्रकाशले सञ्चालन गर्ने कन्सल्टेन्सीले नेपाली विद्यार्थीलाई दिनदहाडै शिक्षाको नाममा व्यापार गरिरहेको पाइएको छ । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजाल, अर्का नेता डा. नारायण खड्का लगायतले पनि कन्सल्टेन्सी चलाएका छन् ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या दिनदिनै बढेको छ । शिक्षा मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा उच्च शिक्षा अध्ययनका लागि ५८ हजार विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् । गत वर्ष ५० हजार ६ सयले त्यस्तो अनुमति लिएका थिए । अघिल्लो वर्ष भन्दा गत वर्ष करिब आठ हजार थप विद्यार्थी विदेशिएका छन् । सो भन्दा अघिल्लो वर्ष ३२ हजार ५ सय विद्यार्थी विदेश अध्ययनका लागि भन्दै गएका थिए । नेपालबाट वार्षिक एक खर्ब २५ अर्ब रुपैयाँ डलरमा रुपान्तरित भएर विदेशिने गरेको छ ।

देशभित्र गुणस्तरीय शिक्षाको अभाव, बन्द हडताल तथा राजनीतिक रुपमा हरेक क्षेत्रमा जकडिएका समस्याका कारण ठूलो परिमाणको रकम विदेशिने गरेको सरकारी तथ्यांकले देखाएको छ । विशेषगरी नेपालभित्र मेडिकल कलेज खोल्न नदिने, खोलेका कलेज समेत दक्ष र गुणस्तरीय नहुने लगायतका समस्याको कारण मोटो रकम विदेशिएको हो ।
अध्ययनको नाममा विदेशिने र उतै हराउने क्रम पनि बढेको छ । ब्रेन ड्रेनको समस्याका कारण अदक्ष र अल्छीहरुको देशमा नेपाल रुपान्तरण हुने त होइन भन्ने चिन्ता समेत बढेको छ । शिक्षा मन्त्रालयका अनुसार उच्चशिक्षा अध्ययनका लागि गएका नेपाली विद्यार्थी करिब ८० देशमा पुगेका छन् ।

पछिल्लो दिनमा काम पनि पाइने, पढाई पनि हुने भन्दै जापान जाने विद्यार्थीको संख्या उल्लेख्य बढेको छ । पछिल्लो पाँच वर्षमा मात्रै जापानमा करिब ३० हजार बराबर नेपाली अध्ययनका नाममा पुगेका छन् । विदेश जानेमध्ये धेरैको रोजाई अर्थात् शिक्षा मन्त्रालयकै तथ्यांकलाई मान्ने हो भने ६० प्रतिशत विद्यार्थी अष्ट्रेलिया पुगेका छन् । जापान, भारत, अमेरिका, चीन, पोल्याण्ड, क्यानाडा, दक्षिण कोरिया लगायतका देशमा पनि नेपाली विद्यार्थीको संख्या ठूलो रहेको छ ।

शिक्षा मन्त्रालयका अनुसार अनुमति नलिइ भारत जानेको संख्या अझै ठूलो भएपनि सरकारी अभिलेखमा उल्ल्ेख रहेको छैन । भारत गएका विद्यार्थीको समेत तथ्यांक राख्ने हो भने करिब ९० हजार विद्यार्थी वार्षिक रुपमा विदेशिने गरेका छन् । विद्यार्थी विदेशिने बढ्दो क्रमसँगै ठूलो रकम पनि बाहिरिँदा त्यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने गरेको छ । प्रतिविद्यार्थी कम्तीमा रु २० लाखका दरले वर्षेनी सवा खर्व रुपैयाँभन्दा बढी रकम विदेशिएको शिक्षा मन्त्रालयले जनाएको छ । यति ठूलो आर्थिक मूल्य र उम्दा युवा शक्ति गुमाउने क्रम रोक्ने हो भने स्वदेशमै गुणस्तरीय शिक्षाको अवसर, शिक्षाका लागि उचित वातावरण र रोजगारीको सुनिश्चितता गर्न जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस