सरकारले महिला र बालबालिकाहरुको संरक्षणका लागि कानुन बनाउन सकेन : उपसभामुख राना

सफल खबर संवाददाता

सोमबार, २५ मंसिर २०८०, १३ : २२
सरकारले महिला र बालबालिकाहरुको संरक्षणका लागि कानुन बनाउन सकेन : उपसभामुख राना

काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख ईन्दिरा राना मगरले आफूले जीवनको ३४ वर्ष जेलमा रहेका महिला र बालबालिकाको पक्षमा काम गरेपनि सरकारले महिला र बालबालिकाको संरक्षणका लागि उपयुक्त कानुन ल्याउन नसकेको टिप्पणी गरेकी छन् । आज (सोमबार) ललितपुरमा महिला अधिकारका लागि राष्ट्रिय अभियानले आयोजना गरेको ‘लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनः नीति तथा संस्थागत संरचनाको विश्लेषण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

आफू राजनीतिका आउँदै गर्दा पनि धेरै महिला माननियहरु समानुपातिकमा आएको भेटेको उनले अनुभव सुनाईन् । संविधानको धारा ३८ (५) ले कम्तिमा पनि ३३ प्रतिशत महिलाहरुलाई प्रत्यक्ष निर्वाचनमा लड्ने अधिकार रहेको दाबी गर्दै उनले उक्त संवैधानिक हक सुनिश्चित गरिनुपर्ने बताईन् ।

उनले महिला हिंसा सम्बन्धी बनेका कुनै पनि कानुन प्रभावकारी कार्यान्वन हुन नसकेको बताईन् । अब महिलाहरु चुप लागेर बस्ने नभएर आफूविरुद्ध हुने हरेक प्रकारका विभेद र हिंसाका विरुद्ध आवाज बुलन्द पार्नुपर्ने उनले बताईन् ।

कार्यक्रममा महिला अधिकारका क्षेत्रमा काम गरिरहेका अधिकारकर्मी, पीडित महिला र सरोकारवाला संघ/संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस