कम्युनिष्टसँग गठबन्धन गर्दै जाने हो भने कांग्रेसको अस्तित्व सकिन्छ : शेखर कोइराला

सफल खबर संवाददाता

शुक्रबार, २२ मंसिर २०८०, १५ : ५०
कम्युनिष्टसँग गठबन्धन गर्दै जाने हो भने कांग्रेसको अस्तित्व सकिन्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीहरूसँग गठबन्धन गर्न नहुने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह ‘चिनारी’ को लोकर्पण समारोहलाई सम्बोधन गर्दै कोइरालाले गठबन्धन गर्दा लोकतान्त्रिक पार्टीहरूसँगै गठबन्धन गर्नुपर्ने बताए । कोइरालाले कम्युनिष्ट पार्टीहरूसँग कांग्रेसले गठबन्धन गर्दै जाने हो भने अस्तित्व नै समाप्त हुने बताए ।

देश परिवर्तन गर्नु छ भने नेपाली कांग्रेसलाई परिवर्तन गरेर अघि बढ्न जरुरी रहेको उनको भनाइ छ । गठबन्धन पनि निर्वाचनपछि गर्ने कि अगाडि भन्ने सोच्नुपर्ने कोइरालाले बताए ।

उनले भने, ‘यही निर्वाचन प्रणालीमा गठबन्धन गर्नैपर्छ । तर, गठबन्धन प्रि इलेक्शन गठबन्धन कि पोस्ट इलेक्सन गठबन्धन गर्ने ? त्यसमा ध्यान दिनुपर्छ । हामी त डेमोक्रेटिक पार्टी हामी कस्तो पार्टीसँग गठबन्धन गर्दैछौँ ? अलिकति पनि डेमोक्रेटिक भएको पार्टी छ की छैन ? त्यस्तो पार्टीहरूसँग गठबन्धन गर्दा हामी कहाँ पुग्ने हो ? यो गम्भीर विषय छ । यो विषयलाई नेपाली कांग्रेसले गम्भीरताका साथ लिएको छ ।’

‘कम्युनिष्ट कम्युनिष्टसँग गठबन्धन गरेर अघि जाने हो भने हाम्रो अस्तित्व बिस्तारै समाप्त हुँदै जान्छ । यो देशकै लागि डरलाग्दो विषय हो । देश परिवर्तन गर्नु छ भने नेपाली कांग्रेसलाई परिवर्तन गरेर अघि लग्नुस् । नेपाली कांग्रेस परिवर्तन भयो भने देश परिवर्तन हुन्छ, किनभने हामी लोकतान्त्रिक पार्टी हौं । पपुलिजममा हामी धेरै गइरहेको देख्छु म । सामाजिक सञ्जालहरुमा हेर्नुस्, न्युज पढ्नुस् । हामी लोकरिझाइँमा बढी गइरहेका छौं ’, उनले थपे ।

 

प्रतिक्रिया दिनुहोस