चितवनमा धान उत्पादन १० प्रतिशतले कमी

रासस

विहीबार, २१ मंसिर २०८०, १४ : ४३
चितवनमा धान उत्पादन १० प्रतिशतले कमी

चितवन । जिल्लामा यसवर्ष धान उत्पादनमा १० प्रतिशतले कमी आएको छ ।  यहाँ २६ हजार  तीन सय ५२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमा एक लाख १२ हजार एक सय ९० मेट्रिक टन धन उत्पादन भएको छ । यसवर्ष धानको उत्पादकत्वमा समेत कमी आएको छ । चार दशमलव २६ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । 

गत वर्ष २७ हजार आठ सय ९८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमा एक लाख २४ हजार सात सय ६२ मेट्रिकटन धान उत्पादन भएको कार्यालयका योजना अधिकृत उमराज अर्यालले जानकारी दिए । सो वर्ष उत्पादकत्व चार दशमलव छ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको थियो ।

उनका अनुसार गत वर्षको तुलनामा यसवर्ष १२ हजार पाँच सय ७२ मेट्रिकटन धान उत्पादन घटेको हो । धान रोप्ने समयमा वर्षात् नहुनु र धानमा रोगकीरा लाग्नुका कारण यसवर्ष उत्पादनमा कमी आएको अर्यालले बताए ।

उनले भने, “समयमा पानी पर्न नसक्दा पहिलाको तुलनामा कम क्षेत्रफलमा धान रोपाइँ भयो, त्यससँगै बीउमा कीरा लाग्ने र धान उत्पादन हुने समयमा रोग लाग्ने समस्या आयो, जसका कारण उत्पादनमा कमी भयो ।” समयमा वर्षात् हुन नसक्दा पश्चिम चितवनका सबै क्षेत्रमा रोपाइँ हुन नसकेको उनले जानकारी दिए । धानको उत्पादन हुने समयमा कालो पोके, घाँटी मरुवा, गवारो जस्ता समस्या देखिएको उनले बताए ।