रास्वपाले गर्‍यो पदाधिकारीको कार्यविभाजन

सफल खबर संवाददाता

मंगलबार, १९ मंसिर २०८०, १९ : ५४
रास्वपाले गर्‍यो पदाधिकारीको कार्यविभाजन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारीको कार्यविभाजन गरेको छ । रास्वपाले दुई उपसभापति, महामन्त्री, तीन सहमहामन्त्री, कोषाध्यक्ष, दुई जना सहकोषाध्यक्ष र तीन जना सहप्रवक्ताको कार्यविभाजन टुङ्ग्याएको हो ।

यही मङ्सिर ११, १२ र १३ गते महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट रास्वपाले पदाधिकारीको संख्या १३ बनाएको थियो ।रास्वपाले बैठकबाट एक उपसभापति, दुई सहमहामन्त्री, एक–एक कोषाध्यक्ष र सहकोषाध्यक्ष तथा तीन जना सहप्रवक्ता मनोनीत गरेको थियो । रास्वपाले उपसभापति तथा पार्टीको प्रवास नेपाली सम्पर्क विभाग प्रमुख डोलप्रसाद अर्याललाई संगठनमा केन्द्रित गराउने छ भने अर्का उपसभापति तथा अर्थ नीति विभाग प्रमुख स्वर्णिम वाग्लेलाई नीति सम्बन्धी जिम्मेवारी तोकेको छ ।

रास्वपाको विधानको धारा २६ को उपधारा २ मा उपसभापतिको काम, कर्तव्य र अधिकारबारे व्यवस्था छ । जसमा सभापतिको कार्यमा आवश्यक सहयोग गर्ने, सभापतिले प्रत्यायोजन गरेको कार्य गर्ने, केन्द्रीय समिति र केन्द्रीय कार्य सम्पादन समितिले तोकेको कार्य गर्ने उल्लेख छ ।

यस्तै दुई उपसभापतिमध्ये उमेरमा ज्येष्ठ उपसभापतिले वा सभापतिले तोकेको उपसभापतिको अनुपस्थितिमा सभापतिको कार्य गर्ने पनि विधानमा उल्लेख छ । महामन्त्री ढकालका अनुसार उपसभापति अर्याललाई पार्टी संगठन र वाग्लेलाई नीति सम्बन्धी जिम्मेवारी तोकिएको छ ।

उनले भने, ‘पार्टीले उपसभापतिका रुपमा डीपी अर्याललाई पार्टीको सांगठनिक गतिविधि र अर्का उपसभापति स्वर्णिम वाग्लेलाई नीति सम्बन्धी गतिविधि हेर्न जिम्मेवारी तोकेको छ । सभापतिज्यू विदेशबाट फर्किएपछि उपसभापतिको कार्यविभाजन औपचारिक रुपमा टुङ्गिन्छ । मोटामोटी यही नै हो ।’

महामन्त्री ढकालका अनुसार संगठनको आँखाबाट पार्टीलाई उपसभापति अर्यालले हेर्ने छन् भने संसदीय आँखाबाट उपसभापति वाग्लेले हेर्ने छन् । रास्वपामा महामन्त्री तथा प्रवक्ता ढकाललाई नीति तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी छ । महामन्त्री ढकालको जिम्मेवारी पार्टी विधानले नै निर्देशित गरेको छ ।

महामन्त्री ढकालले विभागीय जिम्मेवारीका साथै सहमहामन्त्रीत्रयको कार्यविभाजन पनि टुङ्ग्याएका छन् । पार्टी विधानमा दुई सहमहामन्त्रीको व्यवस्था भए पनि रास्वपाले विधान विपरीत तीन जना सहमहामन्त्री बनाएको छ । पार्टी विधानको धारा २६ (४) अनुसार महामन्त्री ढकालले उनीहरुको कामको क्षेत्र छुट्याएका छन् ।

पार्टी संगठन विभाग प्रमुखसमेत रहेका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई ८ वटा काम तोकिएको छ । पार्टी संगठनलाई चुस्त, क्रियाशील र प्रभावकारी बनाउन नेतृत्व गर्ने, पार्टीका समिति, विभाग, आयोग तथा अन्य संयन्त्र र पार्टी सदस्यहरूलाई पार्टी सम्बन्धी गतिविधि र आवश्यकता अनुसार अन्य सूचना प्रवाहित गर्न निर्णयको जानकारी गराउन तथा निर्देशन जारी गर्न महामन्त्रीलाई आवश्यक सहयोग गर्ने जिम्मा दिइएको छ ।

त्यस्तै केन्द्रीय समिति एवं पार्टी सचिवालयका बैठकहरुको निर्णय पुस्तिका तयार गर्न तथा पारित नीति निर्णयहरु कार्यान्वयन गर्न महामन्त्रीलाई आवश्यक सहयोग गर्ने, दैनिक कार्यसञ्चालनमा महामन्त्रीलाई आवश्यक सहयोग गर्ने कार्य तोकिएको छ । पार्टीको केन्द्रीय कार्यालय सञ्चालनमा महामन्त्रीलाई आवश्यक सहयोग गर्ने र महामन्त्रीको निर्देशन बमोजिम अन्य कार्यहरू गर्ने कार्यविभाजनमा उल्लेख छ ।

आफूले गरेका काम कारबाही तथा पार्टी सम्बन्धी आफूलाई प्राप्त सूचना महामन्त्रीलाई नियमित रुपमा रिपोर्टिङ गर्ने र  महामन्त्रीलाई आवश्यकता अनुसार सल्लाह सुझाव दिने जिम्मेवारी बुर्लाकोटीको भागमा परेको छ ।

 

प्रतिक्रिया दिनुहोस