भरतपुर महानगरपालिकाद्धारा निजी स्वास्थ्य संस्थाहरुको अनुगमन तीब्र

सफल खबर संवाददाता

आइतबार, १७ मंसिर २०८०, १५ : २१
भरतपुर महानगरपालिकाद्धारा निजी स्वास्थ्य संस्थाहरुको अनुगमन तीब्र

चितवन । भरतपुर महानगरपालिकाले महानगरभित्र सञ्चालित निजी स्तरका स्वास्थ्य संस्थाहरुको अनुगमनलाई तीब्र पारेको छ । महानगरपालिकाले गत साउन १२ गते दर्ता नभएका संस्थालाई दर्ता गर्न आह्वान गरेको थियो । महानगरको सुचना प्रकाशन आधारमा निवेदन पेश भएका संस्थाहरुको पहिलो चरणमा अनुगमन गरिएको महानगरका जनस्वाथ्य अधिकृत केशव भट्टले जानकारी दिए । पहिलो चरणमा ५६ वटा स्वास्थ्य संस्थाको अनुगमन गरिने अधिकृत भट्टले बताए । हालसम्म ४२ वटा स्वास्थ्य संस्थाको अनुगमन गरिसकिएको छ ।

जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि महानगरपालिकाले वर्षेनी स्वास्थ्य संस्थामा अनुगमन गर्ने गरेको छ । यस्तै अनुगमनका क्रममा सर्वसुलभ स्वास्थ्यको पहुँच वृद्धि गर्न टेवा पुग्ने भएकाले अनुगमलाई निरन्तरता दिईरहेको हो । स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरु तालिम प्राप्त भए नभएको, जोखिमयुक्त फोहरको व्यवस्थापनको अवस्थाबारे पनि अनुगमन गर्ने गरिएको छ ।

अनुगमनका क्रममा मापडण्ड पुरा भएकाहरुको दर्ता गरिनेछ भने पुरा नभएकाहरुलाई मापदण्ड पुरा गर्न अनुरोध गरिने छ । गत असोज २१ बाट सुरु भएको अनुगमन नियमित चल्ने बताइएको छ । गत वर्ष ४ वटा १५ शैयाको अस्पतालसहित ५२ वटा स्वास्थ्य संस्था दर्ता गरिएको थियो । हालसम्म दर्ता गर्न नआएका स्वास्थ्य संस्थालाई दर्ता प्रकृयामा आउन महानगरपालिकाले सार्वजनिक आह्वान समेत गरेको छ । दर्तामा नआई मापदण्ड विपरित सञ्चालन भएका स्वास्थ्य संस्थालाई कानुनी कारबाही गरिने महानगरपालिकाका जनस्वास्थ्य शाखा प्रम्ुख दिपक सुवेदीले जानकारी दिए । महानगरपालिकाले जनस्वास्थ्य ऐन ०७७ तथा स्वास्थ्य संस्था दर्ता नविकरण तथा सञ्चालन अनुमति कार्यविधि ०७७ निर्माण गरी सोही अनुसार काम कारबाही अगाडि बढाउदै आएको छ ।

भरतपुर महानगरले १५ शैयाको अस्पताल, स्वास्थ्य क्लिनिक, आयुर्वेदिक क्लिनिक, फिजियोथेपी केन्द्र, होमियोपेथिक क्लिनिक तथा डी र ई वर्गका प्रयोगशालालाई नियमन गर्ने गर्दछ । भरतपुरमा भरतपुर केन्द्रीय अस्पताल, वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठुला मेडिकल कलेज, २० निजी अस्पतालसहित २०० को संख्यामा निजी क्लिनिक तथा फार्मेसी सञ्चालनमा छन्।

प्रतिक्रिया दिनुहोस