आईपीओ निष्कासन गर्दै शिवम् होल्डिङ्स

सफल खबर संवाददाता

शुक्रबार, १५ मंसिर २०८०, १२ : ५३
आईपीओ निष्कासन गर्दै शिवम् होल्डिङ्स

काठमाडौं। शिवम् होल्डिङ्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत शेयर लगानी रहेको होल्डिङ्सले १ करोड १६ लाख साधारण शेयर निष्काशन गर्न लागेको हो ।

जारी पुँजी ५ अर्ब ८० करोडको २० प्रतिशत बराबर हुने (१०० का दर)ले १ करोड १६ लाख साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृतिअनुसार प्रक्रिया अगाडि बढेको कम्पनीले जनाएको छ ।

शिवम् होल्डिङस् लिमिटेडका सञ्चालक अध्यक्ष शिवरतन शारदाको उपस्थितिमा सिद्धार्थ क्यापिटल लिमिटेडसँग शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिका लागि सम्झौता समेत भइसेकेको छ ।

सम्झौताअनुसार कम्पनीले सर्वसाधारणमा शेयर निष्कासन गरी बजारमा छरिएर रहेको स–साना पुँजीलाई संकलन गर्दै लगानी थप विस्तार गरी देशको अर्थतन्त्रमा योगदान पुर्‍याउँदै मुनाफा आर्जन गर्ने विश्वास लिएको छ ।

शिवम् होल्डिङ्स २०७१ सालमा प्रालि कम्पनी अन्तर्गत दर्ता भई २०७९ सालमा पब्लिक लिमिटेडमा नियमानुसार परिणत भएको कम्पनीले नेपालको सबै भन्दा ठूलो सिमेन्ट तथा किलङकर उत्पादन क्षमता भएको अत्याधुनिक प्रविधियुक्त ग्रिनफिल्ड उद्योग हो ।

उद्योगले वेष्ट हिटको उपयोग गरी करिब १२ मेगावाट विद्युत् समेत उत्पादन गरी आफ्नै उद्योगमा प्रयोग गर्दै आएको र कन्भेयरवेल्टबाट चुनढुंगा ढुवानी गर्न सुरुङमार्ग समेत निर्माण गरिरहेको छ । 

शिवम् होल्डिङ्स लिमिटेडको अधिकृत तथा जारी पुँजी रु. ५ अर्व ८० करोड मध्ये संस्थापकहरू तर्फ ८० प्रतिशत अर्थात रु. ४ अर्व ६४ करोड र सर्वसाधारण तर्फ रु. १ अर्व १६ करोड शेयर पुँजी छुट्याई प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया प्रारम्भ गरेको हो ।

प्रतिक्रिया दिनुहोस