काठमाडौं। सरकारी स्वामित्वको ‘नेपाल टेलिकम’ले नेपालकै सबैभन्दा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ ।‘एनटी फाइबर’ नामबाट पछिल्लो समय ‘फाइबर टु दी होम’ (एफटीटीएच) इन्टरनेटमा लोकप्रियता बटुलिरहेको टेलिकमले त्यसैको विस्तारित रूप १ जीबीपीएस (१००० एमबीपीएस) गतिको इन्टरनेट उपलब्ध गराउन शुरू गरेको हो ।
‘कर्पोरेट क्लाइन्ट’हरूलाई लक्षित गरी ल्याइएको इन्टरनेट नेपालमा अहिलेसम्म उपलब्ध भएमध्ये सबैभन्दा उच्च गतिको भएको दाबी नेपाल टेलिकमले गरेको छ । व्यक्तिगत ग्राहकलाई पनि यो सेवा विस्तार गर्दै लैजाने लक्ष्य रहेको नेपाल टेलिकमका वरिष्ठ इन्जिनीयर द्रोण घिमिरेले लोकान्तरसँग बताए । उनका अनुसार १ जीबीपीएस क्षमताको इन्टरनेट सेवा उपलब्ध गराउनका लागि अनुमति पाउने नेपाल टेलिकम पहिलो इन्टरनेट सेवाप्रदायक संस्था समेत हो ।
यसबाट कर्पोरेट क्लाइन्टहरूले विशेष लाभ लिन सक्ने विश्वास गरेका छौं,’ वरिष्ठ इन्जिनीयर घिमिरेले भने, ‘अहिलेसम्म घरायसी प्रयोजनका ग्राहकले यति उच्च गतिको इन्टरनेट माग गर्नुभएको छैन । माग गरेको अवस्थामा उहाँहरूले पनि यो सेवा पाउनुहुन्छ ।’
कम्पनीले जीपोन (GPON) प्रविधिमार्फत १०० एमबीपीएससम्मको गतिमा एनटी फाइबर इन्टरनेट उपलब्ध गराउँदै आएकोमा अब एक्सजीपोन (XGPON) प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा पनि उपलब्ध गराउने छ ।
यो सेवा ०.५ जीबीपीएस (५०० एमबीपीएस) र १ जीबीपीएस (१००० एमबीपीएस) गरी दुईवटा प्याकेजमा उपलब्ध छ, जसको वार्षिक मूल्य क्रमशः ८० हजार र १ लाख १० हजार तोकिएको छ । मासिक हिसाब गर्दा एउटा प्याकेज ६ हजार ६ सय र अर्को प्याकेज ९ हजार १ सयको हाराहारीमा पर्छ ।
‘कर्पोरेट क्लाइन्टहरूको कुरा गर्दा मासिक ५ देखि १० हजारको रेन्जमा यो गतिको इन्टरनेट पाउनु भनेको निकै सस्तो हो,’ घिमिरेले भने, ‘अर्को फाइदा भनेको फोन तथा आईपीटीभी समेत बन्डलिङमा उपलब्ध हुने भएकाले एउटै फाइबर केबलबाट ग्राहकले तीन किसिमका सेवा सहजै प्राप्त गर्न सक्छन् ।’
प्रिमियम एफटीटीएच ५०० एमबीपीएसअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिन्छ भने अन्य नेटवर्कमा प्रतिमहिना ३५० मिनेट कल गर्न सकिनेछ । यसअन्तर्गत ग्राहकले दैनिक ०.५ टीबी (५०० जीबी) डेटा दैनिक प्रयोग गर्न सक्नेछन् । ५०० जीबी डेटा प्रयोग भइसकेको अवस्थामा १०० एमबीपीएसको गतिमा अनलिमिटेड इन्टरनेट सुचारु रहने वरिष्ठ इञ्जिनीयर घिमिरेले जानकारी दिए ।
त्यस्तै प्रिमियम एफटीटीएच १ जीबीपीएसअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ५०० मिनेट कल गर्न सकिनेछ । यो प्याकमा १ टीबी डेटा प्रतिदिन प्रयोग गर्न सकिनेछ ।
दुवै प्याकेजमा एउटा आईपीटीभी, सीपीई र सेटटप बक्स तथा ३०० मिटर ड्रप फाइबर वायर निःशुल्क उपलब्ध हुने वरिष्ठ इन्जिनीयर घिमिरेले बताए । नयाँ ग्राहकले शुरूमा एकपटक फोनका लागि ६६५ र इन्टरनेट इनस्टलेसन चार्ज ५०० गरी ११ सय ६५ रुपैयाँ तिर्नुपर्नेछ । टेलिकमको ल्यान्डलाइन फोन प्रयोग गरिरहेका पुराना ग्राहकले भने करसहित जम्मा ५०० रुपैयाँ तिरेर सेवा लिन सक्ने उनको भनाइ छ ।
सेवा जडान तथा मर्मतका लागि १९८ मा डायल गरेर प्राप्त सन्देशअनुसार १ डायल गरी सेवा लिन सकिने नेपाल टेलिकमले जनाएको छ । अहिले टेलिकमले हप्ताको सातै दिन सेवा उपलब्ध गराउँदै आएको छ ।
बिदा नभनी हप्तामा सातै दिन सेवा,बजारमा जबरजस्त कमब्याक
खासै ठूलो प्रचार नगरे पनि नेपाल टेलिकमको फाइबर इन्टरनेट प्रयोगकर्ता निरन्तर बढ्दै गएका छन् ।‘वर्ड अफ माउथ’का आधारमा सेवाग्राही बढ्दै गएका हुन् । प्रयोगकर्ताले सकारात्मक प्रतिक्रिया दिएको वा ‘रिफर’ गरेको आधारमा प्रयोगकर्ता बढ्दै गएको नेपाल टेलिकमका सह–प्रवक्ता परमात्मा भट्टराईले बताए ।
‘फाइबर नेटको सिग्नल र ब्यान्डविथ राम्रो छ । व्यक्ति र संस्थालाई चाहिने तीनै खालका सेवा (इन्टरनेट, टीभी र फोन) एक साथ उपलब्ध छन्,’ भट्टराईले भने, ‘सेवामा समस्या पनि खासै छैन, सोहीकारण हुनसक्छ, ‘वर्ड अफ माउथ’ले निकै काम गरेको छ ।’समस्या आउँदा बिदा नभनी हप्ताको सातै दिन मर्मतसहितका सेवा उपलब्ध हुने भट्टराईले बताए ।
‘कपर केबल हुँदा चोरीको समस्या थियो । हावाहुरी र पानीमा सिग्नल लस हुने गर्थ्यो,’ भट्टराईले थपे, ‘फाइबरमा त्यस खालका समस्या छैनन्, त्यसमाथि हामीले ‘सेभेन टु सेभेन’ सर्भिस उपलब्ध गराएका छौं ।’
फिडर लेभलको समस्या समाधानका लागि २४/७ (हरेक समय) नै काम हुने र ग्राहक तहको समस्या समाधानका लागि पनि हप्तामा सातैदिन सेवा दिने गरिएको उनको भनाइ छ ।फिल्डमा आउने समस्या समाधानका लागि सेवा करारमा लिइएको उनले बताए ।
खास–खास कामका लागि करार सम्झौता गरेका निजी कम्पनीले एनटी फाइबरमा आउने ‘फिल्ड’का समस्या समाधानका लागि तुरुन्तै काम गर्नुपर्ने जिम्मेवारी पाएका छन् ।‘अहिले सरकारी बिदा वा शनिवार भन्ने छैन, करारमा सम्झौता गरेको कम्पनीका प्राविधिकहरू सातैदिन फिल्डमा हुन्छन्, निजी सेवा प्रदायक र हाम्रोमा अहिले केही फरक छैन,’ नेपाल टेलिकमकै अर्का एक अधिकारीले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ मंसिर २०८०, ११ : १९
लेखकबाट थप